मोरङ, मंसिर । प्रदेश १ को राजधानी विराटनगरमा मोरङ कांग्रेसले सरकारविरुद्ध प्रदर्शनसहित सभा गरेको छ । सभालाई सम्बोधन गर्दै महामन्त्री डा. शशांक कोइरालाले सरकारको स्वच्छेचारी प्रवृत्तिका कारण कांग्रेस आन्दाोलन गर्न बाध्य भएको बताए । विरोधसभालाई सम्बोधन गर्नुहुँदै सरकार गठन भएको साढे तीन वर्षको अवधिमाा सरकारले जनताको पंक्षमा काम गर्न नसकेको आरोप लगाए ।
बालुवाटारको जग्गा प्रकरण, वाइडबडी विमान खरिद प्रकरण, स्वास्थ्य सामग्री खरिद प्रकरण जस्ता धेरै काण्डमा सरकार मुछिएको उनले बताए । महामन्त्री कोइरालाले नयाँ भिजन र नयाँ दृष्टिकोण नभएका कारण सरकारले कुनै पनि विकासका ठूला आयोजना ल्याउन नसकेको उल्लेख गरे । सरकारकै संरक्षणमा खुल्ला रुपमै मुलुकमा भ्रष्टाचार भइरहेको उनको आरोप थियो ।
संगठित भएमा कांग्रेसलाई कसैले पनि हराउन नसक्ने भन्दै उनले कांग्रेसको आदर्श विचारलाई आत्मसाथ गर्दै पार्टीलाई एकढिक्का बनाउनु आफ्नो उद्देश्य रहेको बताए । राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीले जनताको पक्षमा सरकारले काम गर्न नसकेको उल्लेख गरे ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सरकारले जनताप्रतिको विश्वास गुमाउँदै गएको बताए । सभामा मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बू, कांग्रेस नेता भक्तिनाथ माझी, सत्यनारायण भगत, शोभा पालुंगा, विराटनगर महानगरपालिका तरुण दल नगरसभापति सन्तोष न्यौपानेलगायतले सरकारविरुद्धको आन्दोलन सुरु मात्रै भएको बताए ।
सरकार नसच्चिए अझै कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । विरोधसभा अघि नेपाल तरुण दल विराटनगर नगर समितिले मोटरसाइकल ¥याली प्रदर्शन गरेको थियो । मोटरसाइकल याली महानगरका विभिन्न भागको परिक्रममापछि वीरेन्द्रसभा पुगेको थियो ।