काठमाडौं, मंसिर । नेपाल र भारतका परराष्ट्र सचिवको दुईपक्षीय वार्ता सम्पन्न भएकाे छ । वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला सहभागी थिए । दुईपक्षीय औपचारिक वार्ता अगाडि दुई सचिवको बीचमा वान अन वान वार्ता भएको थियो ।
वार्तापछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले भने, ‘छलफलको राम्रो शुरुवात भएको छ । दुई देशको बीचमा समस्या समाधान गर्ने विषयमा छलफल भएको छ ।’
उनले भने, ‘वार्ता उपलब्धीमूलक भएको छ । वार्ताका एजेण्डा वृहत छन् । आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा उपयोगी छलफल भएको छ ।’ बैठकपछि परराष्ट्र मन्त्रालयले एक ट्वीटमार्फत दुई देशका बीचमा एकदमै सौहार्द्धपूर्ण वातावरणमा छलफल भएको उल्लेख गरेको छ ।
काठमाडौस्थित भारतीय दूतावासले दुबै पक्षले थुप्रै द्विपक्षीय पहल र परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेको जनाएको छ । ‘आपसी सहकार्यलाई अगाडि बढाउन थप कदमहरू चाल्ने सहमति पनि भयो’ दूतावासले भनेको छ ।