२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री ओली संखुवासभामा : "तीन वटा कार्यक्रम तय"

बुधवार , कार्तिक २६, २०७७

 

काठमाडाैँ,  कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज संखुवासभा जिल्ला जाँदैछन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण पछि काठमाडौं बाहिर ननिस्किएका प्रधानमन्त्री ओली बुधबार दश बजे संखुवासभा पुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री सहभागी हुने तीनवटा कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जानकारी गराएका छन । उनका अनुसार,  पहिलो कार्यक्रम भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा  हुनेछ ।

किमाथाङ्कामा ओलीले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी)को निरीक्षण, स्थानीय जनप्रतिनिधि र किमाथाङ्काका बासिन्दासँग छलफल गर्नेछन् ।

किथामाङ्काबाट १०ः३६ मा भोटखोला ३ मा पर्ने च्याम्ताङ भन्ने स्थानमा जानेछन् । च्याम्ताङमा निर्माणाधीन विराटनगर–किमाथाङ्का सडकको निरीक्षण गर्नेछन् । च्याम्ताङमा नेपाली सेनाले ट्रयाक खोल्ने काम गर्दैछ ।

१४ किलोमिटर ट्रयाक खुलेपछि कोशी राजमार्गले चीनसँगको सिमाना छुनेछ । त्रिदेशीय महत्वको यो सडक निर्माणको प्रगतिबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले स्थानीय र जनप्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।

च्याम्ताङ पछि १ः३० बजे प्रधानमन्त्री ओली अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणस्थल पुग्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । मकालु गाउँपालिका–५ मा पर्ने फ्याक्सिन्दामा आयोजनाको ड्याम बनिरहेको छ ।

ड्यामको निरीक्षण पछि प्रधानमन्त्री ओलीले निर्माणको प्रगतिबारे ब्रिफिङ सुन्नेछन् । राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोको ड्यामस्थलमा प्रधानमन्त्री ओलीले दुई घण्टा बिताउने कार्यतालिका बनाइएको छ ।

एक खर्ब ४४ अर्ब निर्माण लागत अनुमान गरिएको अरुण तेस्रो नौ सय मेगावाट क्षमताको जलविद्युत आयोजना हो । 

जलविद्युत परियोजनाको निरीक्षण पछि प्रधानमन्त्री ओलीले स्थानीय जनप्रतिनिधिसँग छलफल र जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिनेछन् । सो क्रममा प्रदेश र प्रतिनिधिसभा सांसदका कुरा पनि उनले सुन्नेछन् ।

फ्याक्सिलाबाट ३ः३० मा प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम तय भएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए । ‘उदघाटन र शिलान्यासको कार्यक्रम तय भएको छैन, निरीक्षणको कार्यक्रम तय भएको छ,’ उनले भने, ‘यो विशुद्ध अनुगमन भ्रमण हो ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार