काठमाडौं, कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका शीर्ष पाँच नेताको छलफल सकिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा डेढ घण्टासम्म चलेको बैठक सम्पन्न भएको हो।
बैठकमा सहभागी नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई सचिवालय बैठक चाँडोभन्दा चाँडो बोलाउन गरिएको आग्रहका विषयमा बैठकमा छलफल भएको छ।
छलफल अघि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेटेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धुम्बाराही पुगेका थिए। छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए।
पाँच नेताको बैठकमा अध्यक्ष प्रचण्डले बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको कुराकानीको ब्रिफिङ गरेका छन्। ओलीले प्रचण्डसँगको छलफलमा बिहीबारसम्ममा सचिवालय बैठक बोलाउने आश्वासन दिएका छन्।
बुधबार उपत्यका बाहिर जाने कार्यक्रम रहेको र बिहीबार सचिवालय बैठक बोलाउने सम्भावनाका विषयमा ओली र प्रचण्डबीच छलफल भएको थियो। यद्यपि ओलीले बैठकका विषयमा अझैसम्म सहमति दिएका छैनन्।
नेकपा सचिवालयका पाँच सदस्यलले यसअघि कात्तिक २२ गते अध्यक्ष एवम् प्रधानमन्त्री अोलीलाई भेटेर लिखित रुपमा सचिवालय बैठक तत्काल बस्ने कुरामा सहमति जुटाउन र बैठक बस्न अनुरोध गरिसकेका छन्। नेताले बैठकका एजेन्डाहित दुई पन्ने पत्र ओलीलाई बालुवाटार पुगेका बुझाएका हुन्।
पाँच नेताको आजको बैठकमासमेत छिटोभन्दा छिटो बैठक बस्नुबाहेक विकल्प नभएको विषयमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए।
‘कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली उपत्यका बाहिर जाने भन्ने योजनामा भएको स्थितिमा पनि २७ गते सचिवालय बैठक बस्नुपर्छ भनेर प्रधानमन्त्रीसँग अनुरोध गर्नु भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष ओलीले २७ गते बैठक बस्ने कुरामा पनि सहमति जनाउनु भएको छैन।’
अनौपचारिक बैठकमा पार्टी एकतालाई मध्यनजर गर्दै पुनः सचिवालय बैठकका लागि अध्यक्ष ओलीसँग आग्रह गर्ने निर्णय भएको उनको भनाइ छ।
‘आजको छलफल अनौपचारिक हो। हामी पार्टी एकताप्रति अत्यन्त संवेदनशील छौँ। धैर्यका र सहमतिका साथ बैठक बस्नका लागि प्रयास गरिराखेका छौँ’, प्रवक्ता श्रेष्ठले भने, ‘
एकता र निर्णय कार्यान्वयनको प्रयत्नमा छौँ। पर्सि बैठक बस्ने सहमति हुन्छ भन्ने हामी चाहन्छौँ।’ आजको डेढ घण्टा लामो छलफल सचिवालय बैठकमै केन्द्रित भएको उनको भनाइ छ।
पार्टीको निर्णय र सहमतिको उलंघन गर्दै प्रधानमन्त्री ओलीले आफूखुसी राजदूत नियुक्तिको सिफारिस गरेको, मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीभित्र कुनै परामर्श नगरेको, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न उक्साएको, सीमा लगायत विषयमा संवाद ठप्प भएका बेला भारतको गुप्तर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयललाई भेटेर त्यसलाई उपलब्धीका रुपमा प्रचार गरेको र पर्सामा पूर्वमाओवादी पृष्ठभूमिका मुकेश चौरसियाको हत्या हुँदा दोषीलाई कारबाही नगर्न दबाब दिएको आरोप लगाउँदै प्रचण्ड-नेपाल पक्ष यतिबेला ओली टिमसँग रुष्ट भएको छ।