काठमाडौँ, कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद बैठकमा सहभागी सांसदले स्वास्थ्य संकट (हेल्थ इमर्जेन्सी) घोषणा गर्न प्रस्ताव गरेका छन् ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेकाे बैठकमा सहभागी सांसदहरूले साे कुरा उठाएका हुन । साे अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कोरोनाको सम्पूर्ण उपचार नि:शुल्क हुनुपर्ने र कोरोनाको प्रभावकारी नियन्त्रणका लागि इमर्जेन्सी घोषणा गरेर जानुपर्ने बताए ।
‘लाइफ सेभिङका हिसाबले निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा लिने र निःशुल्क उपचार गराउनुपर्यो । यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुपर्छ’ अधिकारीले भने‘ हाम्रा महत्वपूर्ण दिन मरणको गणना गरेर बित्ने अवस्था आयो । हेल्थ इमर्जेन्सी घोषणा गरौं । वानडोर (एकद्वार पद्धति) बाट उपचार व्यवस्थापन गरौं ।’
कोरोना रोकथामका लागि राजनीतिक दल र तिनका कार्यकर्ता पनि खटिनुपर्ने र जनचेतनामूलक अभियान सावधानीका साथ चलाउनुपर्ने उनले बताए ।
नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले पनि हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्तावमा समर्थन गरे । ‘अब हेल्थ इमर्जेन्सी लागु गर्नुपर्छ । वानडोर सिस्टमबाट अघि बढ्नुपर्छ । बाटोमै बिरामीलाई मर्न दिनुहुन्न’ उनले भने ।
‘संक्रमण बढ्दो स्थितिमा छ । भ्याक्सिन नआउँदासम्म ३/४ लाख (संक्रमित) पुग्ने विज्ञ अनुमान गर्छन्’ उनले भने, सरकारले उपचार गर्न नसक्ने भनेर हात छाडेको अनुभव हुन्छ । हस्पिटलमा बेड छैन, भेन्टिलेटर आईसीयू छैन भन्ने आइरहेको छ ।’