काठमाडौं, कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र किचलो फेरी शुरु भएको छ । पार्टी सचिवालय बैठक बस्ने तयारीसँगै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली विरुद्ध बहुमत सचिवालय सदस्यहरु एक ठाउँ उभिएपछि संकट देखापरेको हो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव कुमार नेपाल, पार्टी उपाध्यक्ष वामदेव गौतम, पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ अहिले एक ठाउँमा उभिएका छन । नारायणकाजी श्रेष्ठले त लिखित रुपमै सचिवालय बैठकको माग गरिसकेका छन भने वरिष्ठ नेताद्वय खनाल र नेपाल पनि बैठकको पक्षमा रहेका छन ।
पार्टी एकतामा संकट आएको सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठ, पोखरेल र पौडेलले खोलेका छन । एकताका लागि प्रधानमन्त्री ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष छलफल गर्न आग्रह गरेका छन ।
शनिवार प्रचण्ड निवासमा पुगेर माधव नेपालले सचिवालय बैठक बोलाएर सबै विषय टुंगो लगाउनुपर्ने बताए । यससँगै दिउसो वालुवाटार पुगेका प्रचण्डले ओलीसँग सचिवालय बैठकको प्रस्ताव गरेका थिए ।
कर्णाली प्रदेशमा नेपाल समूहले पुष्पकमल दाहाल समूहसँग मिलेर अघि बढ्ने सहमति गरेसँगै ओलीले दाहालसँगको सम्बन्ध तोडाउनका लागि नेपाललाई फकाएर पार्टीको भावी नेतृत्व लिन प्रस्ताव गरे पनि नेपालले मानेका छैनन ।
उपाध्यक्ष गौतम अहिले खनालकै लाइनमा लागेका छन । ओलीकै डिजाइनमा आफूविरुद्ध सर्वोच्च अदालतमा मुद्धा परेको भन्दै गौतम ओलीसँग रिसाएका छन । ओलीविरुद्ध चार सचिवालय एक मत रहेका बेला दाहालले शनिवार बैठकको लागि आग्रह गरेका हुन।
‘प्रधानमन्त्री ओलीले नेपालसँग दशैंअघि र पछि दुई चरण छलफल भयो । त्यसपछि प्रचण्ड शंकामा परेका थिए तर शनिवार विहान नेपालले पनि सचिवालय वैठकका लागि जोड दिएपछि प्रचण्डलाई बल पुगेको हो’, प्रचण्ड निकट एक सदस्यले भने । पटक पटक नेपाललाई फकाउने प्रयास असफल भएपछि ओलीलाई सचिवालय बैठक डाक्न अप्ठ्यारो भएको छ ।
‘शनिवारको भेटघाटमा ओली सचिवालय बैठक राख्न सहमत भएका छन । तर मिति तोकिएको छैन’, प्रचण्ड निकट स्रोतले भन्यो ‘ उहाँले हुन्छ भन्नुभएको छ मितिको बारेमा भने कुनै प्रतिक्रिया दिनु भएको छैन ।’ तर वालुवाटार निकट स्रोतका अनुसार अझै केही दिन सचिवालय बैठक बस्न सक्दैन । ओलीले आफू अनुकुल हुने अवस्था आएपछि मात्रै सचिवालय बैठक राख्नेछन्।