२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

डा. गोविन्द केसीकाे अनसन

प्रधानमन्त्री ओलीले भने : "डाक्टर केसीसँग वार्ता सुरु भयो "

२३ दिनपछि सरकारकाे चासो

मंगलवार , आश्विन २०, २०७७

 

काठमाडौं, असाेज  । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसी अनसन बसेको २३ दिनपछि चासो दिएका छन् । प्रधानमन्त्री ओलीले भने, 'डा. केसीका माग सम्वोधन गर्न सरकारले वार्ता सुरु  भयाे ।' 

मंगलबार अपरान्ह बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमा नेकपाका  केही नेताले डा. केसीको जीवन रक्षाबारे चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको जवाफ दिएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार अपरान्ह बसेको सचिवालय बैठक अनशनरत डा.गोविन्द केसीमाथि नै केन्द्रित भएको थियो । सचिवालयका नेताले डा.केसीको जीवन रक्षाबारे सरकारले ठोस् कदम चाल्नुपर्ने कुरा उठाएपछि बैठक त्यसैबारे केन्द्रित भएको हो ।

‘अरु विषयमा सामान्य कुरा मात्रै भयो । तर, बैठक लगभग डा.केसीबारे नै केन्द्रित हुन पुग्यो’, एक सचिवालय सदस्यले भने । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले सरकारले गर्नुपर्ने पहल गरिरहेको जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘शिक्षा सचिवलाई कुरा गर्न पठाएको छु, उहाँले पनि धेरै जिद्दी गर्नुभएन ।’

सचिवालय बैठकमा नेताले डा. केसीबारे आवाज उठाउनुभन्दा केही घण्टाअघि मात्रै प्रधानमन्त्री ओलीले शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको तीन सदस्यीय टोलीलाई डा. केसीसँग भेट्न अस्पतालमा पठाएका थिए ।

अपरान्ह बसेको सचिवालय बैठकमा नेताहरुले डा. केसीबारे चासो राखेका थिए । बैठकपछि सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्री पनि डा.केसीको मागमा सकरात्मक देखिएका छन  । डा.केसीसँग आजै सरकारका तर्फबाट वार्ता भएको प्रधानमन्त्रीले बैठकलाई जानकारी गराए ।’

सचिवालय बैठक अगाडि बरिष्ठ नेता माधवकुमार नेपालले डा.केसीको जीवन रक्षा गर्नुपर्ने प्रतिक्रिया दिएका थिए । मंगलबार बिहान नेता नेपालले  कुरा गर्दै डा. केसीको जीवन रक्षालाई प्राथमिकता दिनुपर्ने बताएका थिए ।

मंगलबारको बैठकमा सहभागी नेताले सहजकर्तालाई प्रयोग गरेर भए पनि समस्या समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको ती नेताले बताए ।

विभिन्न ६ बुँदे माग राख्दै डा.केसी २२ दिनदेखि अनशनरत छन् । १९औं पटक अनशन बसेका डा. केसीले यसपटक विकट क्षेत्रमा चिकित्सा शिक्षासहित कोरोना संक्रमणबाट नागरिकको जीवन रक्षा गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार