१२ पटकका विजेता राफायल नाडाल फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । अमेरिकी खेलाडी म्याकेन्जी म्याकडनल्डलाई पराजित गरेर स्पेनिस नाडाल तेस्रो चरणमा प्रवेश गरेका हुन् ।
३४ वर्षका दोस्रो बरियताका नाडालले २५ वर्षका म्याकडनल्डलाई ६–१, ६–० र ६–३ को सेटमा पराजित गरेका हुन् । १९ पटक ग्राण्डसलाम उपाधि जितेका नाडालले सन् २००५ यता मात्रै दुईपटक फ्रेन्च ओपनको खेलमा हार बेहोरेका छन् । उनी लगातार चौथो वर्ष फ्रेन्च ओपनको उपाधि उचाल्ने होडमा छन् ।
यसैगरी छैटौँ बरियताका एलेक्सान्डर स्वेरेभ पनि तेस्रो चरणमा प्रवेश गरेका छन्।चार घण्टा लामो खेलमा फ्रान्सेली खेलाडी पिएर–ह्युग्स हर्बर्टलाई पाँच सेटमा पराजित गरेर स्वेरेभले अघिल्लो चरणमा स्थान बनाएका हुन् । स्वेरेभले २–६, ६–४, ७–६ (७–५), ४–६ र ६–४ को सेटमा जित निकालेका हुन्।