२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बलिङ उत्कृष्‍ट भएपनि ब्याटिङ नचल्दा सन्दीप सम्मिलित जमैका पराजित

बिहिवार , भाद्र ११, २०७७

काठमाडौँ, भदौ ।  ट्रिनिडाड एन्ड टोबेगोमा जारी क्यारेबियन प्रिमियर लिग (सिपीएल) क्रिकेटमा जमैका तलाहवाजले तेस्रो हार व्यहोरेको छ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका बार्बडोस ट्रिडेन्ट्ससँग ३६ रनले पराजित भएको हो ।

टस हारेर ब्याटिङमा आएको बार्बडोसले २० ओभरमा ७ विकेट गुमाएर १४८ रन बनाएको थियो । उसका लागि कायल मेयर्सले सर्वाधिक ८५ रनको योगदान दिए । जमैकाका मुजीब उर रहमानले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए ।

जवाफमा १४९ रनको लक्ष्य पछ्याएको जमैकाले आज पनि राम्रो सुरुवात गर्न सकेन । रनको खाता नै नखोल्दा ओपनर ग्ल‍ेन फिलिप्सलाई गुमाएको जमैकाले २७ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो ।

जर्मेन ब्ल्याकवूड र क्रुमा बनरले इनिङ सम्हाल्ने प्रयास गरे पनि टिमको स्कोर ६६ रन हुँदा ब्ल्याकवूड ठूलो शट खेल्ने क्रममा आउट भएका थिए । त्यसपछि विकेट पतन हुने क्रम पुनः सुरु भएको थियो ।

जमैकाले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मात्र बनाउन सक्यो । उसका लागि क्रुमा बनरले ३१ र जर्मेन ब्ल्याकवूडले २८ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानहरुले सोचेअनुरुप रन बनाउन सकेनन् ।

बलिङ उत्कृष्‍ट भएतापनि ब्याटिङ नचल्दा जमैका ५ खेलमध्ये ३ खेलमा पराजित भएको छ । प्रतियोगितामा दोस्रो जीत हासिल गरेको बार्बडोस ५ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने पराजित जमैका पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार