काठमाडौं, भदौ । क्यारेबियन प्रिमियर लिग क्रिकेटअन्तर्गत जमैका तलाहवाजबाट खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा अर्को विकेट लिएका छन् । बुधबार विहान सम्पन्न गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै केवल १२ रन दिएर १ विकेट लिएका हुन् ।
वारियर्सका शेरफन रदरफर्दलाई सन्दीपले १ रनमा आउट गरेका थिए । आसिफ अलीको हातबाट समातिएका रदरफर्डलाई सन्दीपले यसअघिको खेलमा पनि आउट गरेका थिए । टस हारेर ब्याटिङमा आएको वारियर्सले मुजिब उर रहमान र सन्दीपको किफायती बलिङसामू खुलेर रन बनाउन सकेको थिएन ।
२० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाएको वारियर्सका लागि रस टेलरले सर्वाधिक २३ रन बनाए भने नवीन उल हकले अविजित २० रन बनाएका थिए । जमैकाका मुजिबले ४ ओभरमा ११ रन दिएर ३ विकेट लिएका थिए ।
जवाफमा १०९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाको पनि सुरुवात राम्रो हुन सकेको थिएन । ६ रनमै पहिलो विकेट गुमाएको जमैकाले ६२ रनको स्कोर हुँदा ५ विकेट गुमाइसकेको थियो ।
त्यसपछि क्रिजमा आएका आन्द्रे रसल र क्रुमा बनरले जमैकाको इनिङ सम्हाल्दै जिततर्फ उन्मुख गराएका थिए । २ ओभरको खेल बाँकी रहँदै जमैकाले ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । बनरले अविजित ३० तथा रसलले अविजित २३ रन बनाए ।
प्रतियोगितामा दोस्रो जित हासिल गरेको जमैका ४ अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको छ । हारका बाबजुद समान अंक रहेको वारियर्स रनरेटका आधारमा तेस्रो स्थानमा रहेको छ ।