बुटवल, भदौ । एक हातमा आयुर्वेद ओषधिको पोको, अर्को हातमा स्वास्थ्य लाभको चिठ्ठी । बढ्दै गरेका कोरोना संक्रमितप्रति जिम्मेवार निकाय गैरजिम्मेवार बनेका टिप्पणी भइरहेका बेला बुटवलका ‘मेयर’ शिवराज सुवेदी यी दुई कुरा बोकेर कोरोना संक्रमितका घर घरमा पुगेका छन ।
उनले बोक्ने औषधिको पोकोमा रोग प्रतिरोधात्मक क्षमताका जडिबुटी छन् । चिठ्ठीमा छ, संक्रमितलाई स्वास्थ्य लाभको कामनासहित आहार तालिका । कुनै समस्या भए उपमहानगरका स्वास्थ्य संयोजकलाई सिधै सम्पर्क गर्न मोबाईल नम्बर उल्लेख गर्दै संक्रमितलाई दिईएको चिठ्ठीमा लेखिएको छ ‘समाजको एक जिम्मेवार नागरिकका हैसियतले स्वअनुशासन पालन गरी बस्नु होला । तपाइँको शिघ्र स्वास्थ्य लाभको कामनासहित अत्याबश्यक केही औषधिसमेत यसैसाथ पठाएका छौं । ’
उहाँले टाढैबाट संक्रमितको स्वास्थ्य अवस्था सोध्नु हुन्छ, मनोबल बढाउने उपाय सुझाउनु हुन्छ । ओषधिकोे पोको र स्वास्थ्य लाभको कामना गरिएको पत्र दिंदै फर्किनु हुन्छ । उनका साथमा छन, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा वडा अध्यक्षहरु रामचन्द्र क्षेत्री, नारायणप्रसाद पुन, उपमहानगरको स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहलगायतको टोली ।
संक्रमणको जोखिम न्यूनीकरण र संक्रमितको मनोबल बढाउन संक्रमितकै घर (होम आईसोलेसन) मा पुग्ने अभियान थालेको ‘मेयर’ शिवराज सुवेदीले बताए । पछिल्ला दिनमा बुटवलमा संक्रमणको जोखिम झन् बढ्दै गएको छ ।
संक्रमण शुरु हुनुअघि नै कोरोना बिशेष अस्पताल निर्माण भएको बुटवलमा क्वारेन्टाईन र आइसोलेशन सेन्टर सञ्चालनमा छन् । पछिल्लो पटक अतिरिक्त लक्षण नदेखिएका संक्रमित र कन्ट्रयाक टे«सिङमा परेकालाई सुरक्षित तरिकाले होम आइसोलेशनमा राख्न थालिएको छ ।
‘मेयर’ सुवेदी तिनै होम आइसोलेशनमा भएका संक्रमित र तिनका परिवारलाई भेट्ने अभियानमा जुट्नु भएको हो ।
उनले बुधबार एकै दिन बुटवलका विभिन्न २६ स्थानमा रहेको होम आइसोलेनका संक्रमितलाई घरमै पुगेर भेटघाट गर्दै स्वास्थ्य लाभको कामना गर्नुभयो । यस्तो प्रकृया जारी राखिने उपमहानगरका प्रबक्ता रामप्रसाद रेग्मीले बताए ।
प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माका भनाईमा यस्तो अभियानमार्फत सावधानीका उपाय, सुरक्षा प्रवन्ध जस्ता कुराको पनि जानकारी गराउने गरिएको छ । बुटवलमा दिनदिनै संक्रमितको संख्या बढिरहेको छ । यहाँ अहिलेसम्म १२७ जनामा संक्रमित भैसकेका छन् । संक्रमितमध्ये केही त बुटवल उपमहानगरपालिकाकै र सामाजिक बिकास मन्त्रालयका कर्मचारीसमेत छन् ।
घर घरमै पुगेर भेट्ने यस्तो अभियानले होम आईसोलेशनमा बसेकाको मन जितेको छ । होम आइसोलेशनमा बसेकामध्ये एक बुटवल–११, का केशवराज ज्ञवालीको प्रतिकृया छ ‘सांँचै खुसी लाग्यो । यस्तो अभियानले मेरो जस्तै अरुको पनि मनोबल बढाउँनेछ ।’