काठमाडौं, साउन । बालुवाटारमा करिब साढे ४ घण्टा चलेको बैठकमा विज्ञहरूबाट २१ दिन तोकेर कर्फ्यु लगाउनेसम्मका सुझाव आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उनले कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणमा नागरिक उत्तरदायित्व बढाउने सुझाव आएको पनि बताए । ‘प्रधानमन्त्रीज्यूले आवश्यक र जायज सुझाव कार्यान्वयन गरी सरकार अगाडि बढ्ने र सिंगो देश एकताबद्ध भएर कोरोना संक्रमणलाई पराजित गरिछाड्ने उल्लेख गर्नुभयो,’ थापाले भने ।
बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सीसीएमसी निर्देशक समितिमा रहेका मन्त्रीहरूसँगै डा. शरद वन्त, डा. महेश मास्के, डा. भगवान् कोइराला, डा. दिव्यासिंह शाह, डा. सुवास आचार्य, डा. अर्जुन कार्की, स्वास्थ्यमन्त्रीका सल्लाहकार डा. खेम कार्की, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलगायतको उपस्थिति थियो ।
जनस्वास्थ्यविद् समीरमणि दीक्षितले लकडाउनको ढाँचा परिवर्तन गर्नुपर्छ भन्ने सुझाव आफूहरूले दिएको जानकारी दिए । ‘जहाँ–जहाँ संक्रमण छ, त्यहाँ लकडाउन खुकुलो बनाउनुपर्छ । मान्छेलाई यो लकडाउन पूर्ण रूपमा खुलेको होइन, खुकुलो मात्र भएको हो भन्ने सन्देश दिनुपर्यो, राज्यले पनि खुला नभनीकन खुकुलो भन्ने शब्द चलाउनुपर्छ भनेर सुझाव दियौं,’ उनले भने, ‘जुन वडामा संक्रमण छ, त्यहाँ कडा गर्नुहोस्, अरू वडामा वा क्षेत्रमा कडा गर्नुपर्दैन भन्यौं । मास्क अनिवार्य गराउन, भीडभाड नगराउन पनि सुझाव दिएका छौं । परीक्षणलाई अझ बढाउनुपर्छ पनि भनेका छौं ।’
बैठकमा सहभागी एक स्वास्थ्यविज्ञले सरकारले लकडाउन पूर्ण रूपमा खोलेको घोषणा गर्दा गलत सन्देश गएको बताएका थिए । ‘बढी मान्छे जम्मा हुने स्कुल, नाका, विमान अझै खोल्न हुन्न,’ ती विज्ञले भने, ‘लकडाउन गरे पनि क्षेत्रअनुसार जहाँ बढी छ, त्यहीं गर्नुपर्छ । अस्ति त लकडाउन प्रभावकारी भएन । तर जुन क्षेत्रमा लकडाउन गर्ने हो त्यहाँचाहिँ कडा हुनुपर्ने गरी अब काम गर्नुपर्छ ।’
चिकित्सकहरूले कोरोना संक्रमण आएको ५ महिना हुँदासमेत सरकारले पर्याप्त भौतिक पूर्वाधार व्यवस्था गर्न नसकेको, एउटै वा छुट्टा–छुट्टै अस्पतालहरू कोरोना उपचारका लागि पूर्ण रूपमा तयारी अवस्थामा नरहेको, सबै स्वास्थ्य कर्मीलाई जोखिम भत्ता उपलब्ध नभएको, कोरोना लागेको बिरामी अस्पताल ल्याएर उपचार गर्नुपर्दा सरकारी संयन्त्रहरूबीच सहकार्य नभएको भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा सीसीएमसी सचिवालयका संयोजक महेन्द्रप्रसाद गुरागाईंले कोभिड–१९ संक्रमण बढिरहे पनि लकडाउन लगाउने वा नलगाउने भन्नेबारे कुनै निर्णय नगरेको बताए । उनले संक्रमणको अवस्थालाई सीसीएमसी सचिवालय र सरकारले गम्भीर रूपमा हेरिरहेको उल्लेख गर्दै आवश्यकताअनुसार सरकारले कदम चाल्ने बताए ।
मेरै पार्टीबाट पनि जनताप्रति बेवास्ता : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना भाइरसको जोखिम भएर सरकारले नै २५ जनाभन्दा बढी जम्मा नहुनू भनिरहेका बेला आफ्नै पार्टी (नेकपा) का नेताहरूले केन्द्रीय कमिटीको बैठक तुरुन्त चाहियो भनेर जनताप्रति बेवास्ता गरेको टिप्पणी गरेका छन् । ‘केही मानिस र केही संस्थाहरूमा अत्यन्त गैरजिम्मेवारपन देखिन्छ । यथार्थमा भन्नुपर्दा अन्त खोज्न गइरहनु पर्दैन, मेरै पार्टीमा छ । २५ जनाभन्दा बढी हामीले जम्मा हुन दिएका छैनौं, मेरै पार्टीमा ४ सय ५० सदस्यीय केन्द्रीय कमिटीको बैठक तरुन्त चाहियो भन्छन् । कहाँ बस्ने हो ? कसरी बस्ने हो ?’ विज्ञहरूसँगको बैठकमा उनले भने, ‘अहिले बस्नुपर्यो, भोलि बस्नुपर्यो, त्यसबाहेक केही छैन भन्ने छ । यो देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरबाही, बेवास्ता गर्ने र आफ्नो स्वार्थका पछाडि कुद्ने प्रवृत्ति व्यापक रूपमा देखिन्छ ।’
ओलीले देश संकटमा भएका बेला सरकारको विरोध गर्ने माध्यमबाट जे गरे विरोध हुने बताए । सञ्चारमाध्यमलाई इंगित गर्दै उनले भने, ‘उता पल्टाए पनि विरोध गर्ने, क्वारेन्टाइनमा राख्यो भने किन राख्यो भन्ने, राखेन भने किन राखेन भन्ने, लकडाउन गरेन भने किन गरेन भन्ने, लकडाउन गर्यो भने किन गर्यो भन्ने, अनि मान्छे उचाल्ने मान्छे भड्काउने ?’ ओलीले आफूले सुरुदेखि जनताको जीवनभन्दा ठूलो कुरा केही छैन भन्दै आएको उल्लेख गर्दै भने, ‘पहिलो कुरा जनताको जीवन रक्षाको प्रश्न हो । त्यस प्रश्नमा केन्द्रित भएर अघि बढ्न जरुरी छ । र, त्यसका निम्ति सिंगै देश एकजुट हुन जरुरी छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।