काठमाडौँ, साउन। लगातार स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ। आइतबार तीन बजे बोलाइएको स्थायी कमिटी बैठक आज बिहान एघार बजेका लागि बोलाइएको छ।
तर, आज पनि स्थायी कमिटी बस्ने निश्चित छैन। किनभने, आइतबार पछाडि शीर्ष नेताहरु बीच कुनै सम्वाद समेत हुन सकेको छैन। अहिले बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल सहित नेताहरु स्थायी कमिटी राख्न सम्वाद जुटे भने बैठक बस्ने संभावना देखिन्छ। सोमबार साँझसम्मको अवस्था हेर्दा आजको स्थायी कमिटी बैठक पनि बस्ने टुंगो छैन।
तर, सोमबार साँझसम्मको अवस्था हेर्दा आजको स्थायी कमिटी बैठक पनि बस्ने टुंगो छैन। २ साउनको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले विशेष महाधिवेशनको प्रस्ताव गरेपछि नेकपाको विवादले नयाँ मोड लिएको छ। शनिबारको सचिवालय पछाडि खुमलटार केन्द्रीत छलफल भइरहेको छ।
आइतबार बिहान बरिष्ठ नेता माधवकुमार नेपाल सहित नेताहरु दाहाल निवास खुमलटार पुगेर विशेष महाधिवेशनको प्रस्तावबारे छलफल गरेका थिए। पछिल्लो प्रस्तावमा उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा पनि प्रधानमन्त्रीकै पक्षमा देखिए पछि नेकपाको विवादले नयाँ मोड लिएको देखिन्छ। यस अगाडि गौतम र थापा पनि दाहाल–नेपाल खेमामा उभिएका थिए।
गएको १० असार देखि शुरु भएको स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपा विभाजनकै संघारमा पुगेको छ।
प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा नदिने बरु, मंसीरमै महाधिवेशन गर्न आफू तयार रहेको प्रस्ताव गरेका छन्। स्थायी कमिटी बैठक १६ असार देखि अवरुद्ध हुँदै आएको छ। शीर्ष नेताहरुले सहमति खोज्न भन्दै लगातार बैठक स्थगित गर्दै आएका छन्।