बुटवल, जेठ । प्रदेशमा कोरोना संक्रमितहरुको संख्या अप्रत्याशित बढ्दै गएपछि कोरोना बिपद ब्यबस्थापन समितिले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको समितिले संक्रमितहरुको पहिचान र उपचारलाई थप ब्यस्थित बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि नेपाली सेनाको अस्पताल प्रयोगका लागि संघीय सरकारलाई अनुरोध गर्ने र थप अस्पताल सञ्चालन तथा क्षमता बिस्तारका निर्णय पनि समितिले गरेको छ ।
यसैवीच, नेपालगञ्जको क्यारेन्टाईनमा बसेका एक युवकको मृत्यु भएपछि क्यारेन्टाईनमा थप सजगता अपनाईएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सुरक्षा र सजगता बढाईएको सञ्चारकर्मीलाई जानकारी दिएका छन ।
सेनाको अस्पताल प्रयोग गर्न केन्द्रसँग अनुरोध
प्रदेश ५ का तराईका जिल्लामा कोभिड १९ को संक्रमण बढ्दै गएपछि बन्दावन्दीलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा आईतवार वसेको प्रादेशिक कोभिड १९ संकट व्यवस्थापन समितिको वैठकले उक्त निर्णय गर्दै कोरोनाका कारण उत्पन्न हुन सक्ने संभावित जोखिम नियन्त्रणलाई प्रभावकारी वनाउने निर्णय समेत गरेको छ ।
नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताललाई कोभिड १९ विशेष अस्पतालको रुपमा प्रयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, नेपालगञ्ज, वुटवल र भैरहवामा रहेका कोरोना विशेष अस्पतालमा संक्रमित विरामीको चाप बढी रहेको अवस्थामा तत्कालका लागि दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा विरामी पठाउने व्यवस्था मिलाउने निर्णय पनि समितिको बैठकले गरेको छ ।
समितिको वैठकले प्रदेश सिमानाबाहेकका अन्य स्थानबाट लुकिछिपी नेपाल प्रवेश गर्नेलाई प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकाय परिचालन गरी नियन्त्रण र निषेध गर्ने निर्णय भएको छ ।
समितिले प्रदेश अन्तर्गतका जिल्ला र स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइन र आइसोलेसन सेण्टरलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने, भारतबाट नेपाल आउने व्यक्ति बढदै गएको सन्दर्भमा हालसम्म पनि क्वारेण्टाइनको व्यवस्था नगरेका नेपाल भारत सीमा क्षेत्रमा रहेका पालिकाहरुले प्राथमिकताका साथ कम्तिमा एक हजार बेडको क्वारेण्टाइन तयार गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय पनि गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसैगरी, समितिले मित्रराष्ट्र भारतबाट आफ्नो पालिकामा आउनसक्ने व्यक्तिहरुको आँकलन गरी सम्बन्धित सबै पालिकाले त्यसरी आउने व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरी आवश्यक पूर्व तयारी गर्ने निर्णय भएको छ ।
बाँके जिल्लामा कोभिड १९ संक्रमितहरुको उपचारका लागि नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पताललाई आइसोलेसन अस्पतालका रुपमा संचालनमा ल्याउन, लुम्विनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा थप एकसय र भीम अस्पताल भैरहवामा थप ५० आईसोलेसन बेड तयार गरी सञ्चालनमा ल्याउने निर्णय पनि समितिले गरेको छ ।
क्वारेन्टाईनमा बसेका युवाको निधन
बाँकेको नरैनापुर गाउँपालिका ५ मा क्वारेन्टाईनमा बसेका एक युवाको आईतबार विहान निधन भएको छ । भारतबाट ३० गते फर्केका २४ बर्षीय युवा गाउँपालिकाले दिपेन्द्र आधारभुत विद्यालयमा निर्माण गरेको क्वारेन्टाईनमा बस्दै आएका थिए ।
नरैनापुर गाउँपालिकाका अनुसार, राती बान्ता भई क्वारेन्टाईनमा बसेका युवाको निधन भएको जनाएका छन । २४ वर्षीय मृतकसहित नरैनापुरका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा बसेका २६३ जनाको शनिबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेले स्वाब संकलन गरेको थियो ।