२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रदेश २ : "कोरोना नियन्त्रण गर्न २ अर्ब निकासा"

शुक्रवार , बैशाख २६, २०७७

धनुषा, बैशाख । प्रदेश नं २ सरकारले कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि रु दुई अर्ब खर्च गर्ने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले रु दुई अर्ब रकम निकासा गरेको हो ।

चालू आर्थिक वर्ष २०७६-७७ मा प्रदेश सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार बजेट विनियोजन गरेको थियो । जसबाट कोरोना रोकथाम तथा नियन्त्रण प्रयोजनका लागि रु दुई अर्ब निकासा भएको र सो रकम खर्च भइरहेको आर्थिक मामिलामा तथा योजना मन्त्रालयका सचिव प्रेमकुमार श्रेष्ठले सञ्चारकमीर्लाइ जानकारी दिए ।

सचिव श्रेष्ठका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्न सामाजिक विकास मन्त्रालयअन्तर्गत रु ८६ करोड र आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई रु १० करोड ४५ लाख पठाइएको छ । 

यस्तै लकडाउन प्रभावितलाई राहत बाँड्न उद्योग, पर्यटन तथा वन मन्त्रालयलाई रु ३३ करोड ७० लाख र भूमि व्यवस्था तथा कृषि मन्त्रालयलाई रु ३६ करोड निकासा गरिएको छ ।
 
त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयलाई रु एक करोड तथा भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको चारवटा डिभिजनलाई रु २५–२५ लाखका दरले पैसा पठाइएको सचिव श्रेष्ठले बताए । यसबाहेक प्रदेश सरकारले स्थापना गरेको कोभिड–१९ कोषमा रु २५ करोड आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

कोभिड कोषबाट धनुषाको नगराइन नगरपालिकाको गङ्गुलीस्थित क्वारेन्टाइन मर्मत सम्भारका लागि नेपाली सेनालाई रु ५० लाख प्रदेश सरकारले उपलब्ध गराएको छ । 

यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई औषधि, उपकरण र क्षमता अभिवृद्धिका लागि कोषबाट रु १० लाख दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्रेष्ठले बताए ।

कोरोना रोकथाम, नियन्त्रण, उपचार काममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सवारी चालक, पत्रकारलगायत व्यक्तिहरुका ज्यान गएमा रु ५० लाख क्षतिपूर्ति दिने निर्णय प्रदेश सरकारले गरिसकेको छ । 

सचिव श्रेष्ठले आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम निकास गरे पनि हालसम्म खर्च भएको विवरण आइनसकेको बताए । “कोरोना महामारीका लागि रकम निकासा गरिएको हो, काम भइरहेको छ ।

चालू आर्थिक वर्षको बजेटबाट रकम निकासा भएकाले जेठ मसान्तसम्म खर्च भएको रकमबाहेक सबै सरकारी कोषमा फिर्ता आउँछ”, श्रेष्ठले भने । 

कोरोना सङ्क्रमणको जोखिमका हिसाबले प्रदेश नं २ लाई सबैभन्दा बढी संवेदनशील मानिएको छ ।  भारतसँगको खुला सीमा र वैदेशिक रोजगारमा जानेहरुको सङ्ख्या प्रदेश नं २ बाटै बढी भएकाले यस प्रदेशलाई उच्च जोखिमका रूपमा हेरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार