बुटवल,चैत । कोरोनाविरुद्ध सकृय अभियान चलाईरहेका स्थानीय तहले संक्रमण रोक्न र जोखिम कम गर्ने उपायहरु अपनाईरहेका छन् । कतिपय स्थानीय तहले आआफ्ना क्षेत्र भित्रका सडक र बढी जमघट हुने स्थानलाई ‘डिसइन्फेक्सन’ बनाउन किटनाशक औषधि छर्किने अभियान थालेका छन् । बाँकेपछि बुटवल उपमहानगरपालिका, पाल्पालगायतका स्थानहरुमा यस्तो अभियान सञ्चालन भएको छ ।
यस्तो अभियान अन्तरगत बुटवलका सडकमा किटनाशक छर्किइएको छ । उपमहानगरपालिकाले नगरभित्रका सडकहरुमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित किटनाशक औषधि छर्केको हो ।
तीन दिनभित्र उपमहानगरपालिका भित्रका सबै सडकमा किटनाशक छरेर ‘डिसइन्फेक्सन’ गराईने उपमहानगर प्रमुख शिवराज सुवेदीले बताए। उपमहानगरले दमकलमार्फत एक पटकमा चारहजार पाँचसय लिटर औषधि छर्किरहेको छ ।
पहिलो चरणमा चार लाख ६८ हजार लिटर क्लोरिन छर्कने प्रमुख सुबेदीले जनाए । यस्तै कोरोनाको त्रास र लकडाउनका अवधिमा राहत संकलन, बितरण, बिपद् कोषमा सहयोग जस्ता गतिबिधि पनि प्रदेशभर जारी छ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राहत वितरण गर्दा दातालाई सहभागी नगराउन स्थानीय निकायलाई निर्देशन दिएका छन । सोमवार सामाजिक सञ्जाल फेसबुकमार्फत राहत वितरण गर्दा दातालाई संलग्न नगराउन निर्देशन दिएका हुन ।
मुख्यमन्त्री पोखरेलले दाताले प्रदान गर्ने राहत पालिका र वडा कार्यालयले संकलन गर्ने व्यवस्था मिलाउन अनुरोध गर्दै राहत पाउन योग्य परिवारको पहिचान गरी सामाजिक दुरी कायम गरेर मात्र राहत वितरण गर्न गराउन पनि उनले निर्देशन दिएका छन ।
लुकिछिपी नरोकिएपछि सीमानामा अझ कडाई
नेपालगञ्ज समाचारदाताका अनुसार नेपाल–भारत सिमाना पूर्ण रुपमा बन्द गरिए पनि खुल्ला सिमाबाट लुकिछिपी नेपाल भित्रिने क्रम नरोकिएपछि सुरक्षा बढाएर अझ कडाई पारिएको छ ।
केही मानिस लुकिछिपी छिरिरहेको सूचना आएकोले जिल्लाका सबै ठूला साना नाकामा सुरक्षा ब्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । सीमा नाकामा थप १२० जना सशस्त्र प्रहरी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए।