२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

राष्ट्रपति निर्बाचन 

संसद भवनमा मतदान : " परिणाम बेलुका ७ बजेसम्म ल्याउने तयारी "  

' उम्मेदवार रामचन्द्र पौडेलले गरे पहिलो मतदान '

बिहिवार , फाल्गुण २५, २०७९

 

काठमाडौँ, फागुन । मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।  बिहीबार बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।

निर्वाचनमा दुई पूर्वसभामुख रामचन्द्र पौडेल (कांग्रेस) र सुवासचन्द्र नेम्वाङ (एमाले) बीच प्रतिस्पर्धा हुँदै छ । कांग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाई आफ्नो पार्टीको मात्रै भर छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षे कार्यकाल आइतबार सकिँदै छ । निर्वाचन आयोगले उनको कार्यकाल सकिनुअघि नै नयाँ राष्ट्रपति चुन्न लागेको हो । बिहान १० बजे सुरु भई मतदान अपराह्न ३ बजेसम्म हुनेछ । मतदान सकिएको बढीमा ४ घण्टाभित्र परिणाम आइसक्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए ।

निर्वाचनमा प्रतिनिधिसभाका २७२ (फरार १ सहित) , राष्ट्रिय सभाका ५९ र सातै प्रदेशसभाका ५५० गरी ८८१ मतदाताले भाग लिनेछन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक छ । 

संघीय संसद् सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सदस्यको ४८ छ । दुवै सभाको तत्काल कायम रहेका मतदाताको कुल मतभार भने ५२ हजार ६२८ रहेको छ ।

निर्वाचनमा १४ वटा दलले सहभागिता जनाउँदै छन् । राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । राप्रपाका प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् । उनीहरूको मतभार २ हजार ४५० छ ।

तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच मतदान हुनेछ ।  त्यस्तो मतदानमा कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुनेछ ।

निर्वाचनका लागि दुईवटा मतदान केन्द्र कायम गरिएको छ । ५५० प्रदेशसभा सदस्यका लागि एउटा, प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य ३ सय ३१ जनाका लागि अर्को मतदान केन्द्र निर्धारण गरिएको छ । एउटा केन्द्रमा सात जना कर्मचारी खटिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार