२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'कांग्रेस घमण्ड नभई विनम्रताको तागतले सबैलाई लिएर अघि बढ्छ' : महामन्त्री खड्का

बिहिवार , मंसिर १६, २०७८

 

 कर्णाली, मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले घमण्ड र अहङ्कारले होइन कि विनम्रताको तागतले कांग्रेस सबैलाई लिएर अघि बढ्ने बताउनुभएको छ ।

कांग्रेसको प्रथम कर्णाली प्रदेश अधिवेशनलाई आज वीरेन्द्रनगरमा सम्बोधन गर्दै उहाँले धैर्यता, सहिष्णुता र लोकतान्त्रिक संस्कारकै कारण केन्द्रदेखि सातै प्रदेशको शासनमा सहभागी हुने अवसर प्राप्त भएको बताउनुभयो ।

महामन्त्री खड्काले केन्द्रदेखि स्थानीय तहसम्मको शासन प्रक्रियामा सहभागी कांग्रेस नेताले असल आचरणको माध्यमबाट जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

विसं २०७४ को निर्वाचनमा हामी प्रतिपक्षी थियौँ, कम्युनिष्ट पार्टीहरुले शासन चलाउन सकेनन्, त्यो दायित्व कांगे्रसकै काँधमा आयो, उहाँले भन्नुभयो, समय र स्रोत साधन सीमित भए पनि जनतालाई पीर पर्ने काम नगरौँ, जनतालाई मन फर्काएर आउने वातावरण बनाउन अहिलेदेखि नै तयार पारौँ ।

उहाँले जनता रिसाउने काम नगर्न नेतृत्वमा रहेका कांग्रेसका जिम्मेवार नेताहरूलाई आग्रह गर्नुभयो । विगतको भड्किलो जीवनशैली, बोली, व्यवहार, तौरतरिका परिवर्तन गरेर जनताको मन जित्नतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । महामन्त्री खड्काले वर्तमान सत्ता समीकरणको परिवर्तनको बाहक र उद्गम थलो कर्णाली भएको बताउँदै भन्नुभयो, हामीले कर्णालीमा सत्ता समीकरणको गृहकार्य नगरेको भए दुईतिहाइ कम्युनिष्टको बलशाली सरकार ढल्थेन, यहाँबाटै सत्ता समीकरणको प्रारम्भ र बिजारोपण भयो, एमाले सरकारविहीन भयो ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा आफूलाई चित्त नबुझ्नेबित्तिकै अन्तर्घात गर्ने, टिकट नपाएपछि विपक्षी पार्टीलाई भोट दिने प्रवृत्ति त्याग्नसमेत कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो । साथै उहाँले कूटनीतिक संवादका माध्यबाट मिचिएका भूमिहरु फिर्ता ल्याउनुपर्ने दायित्व पनि कांग्रेसकै काँधमा रहेको बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश अधिवेशन आयोजक समितिका संयोजक जीवनबहादुर शाहीले आफ्नो नेतृत्वको सरकारले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरिरहेको प्रष्ट पार्नुभयो । उद्घाटन कार्यक्रममा कांगे्रसका विभिन्न जिल्लाका सभापतिहरु, सङ्घीय र प्रदेश सांसदहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार