२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बाँके  : 'काँग्रेसको निर्वाचन स्थगित' 

सोमवार , मंसिर १३, २०७८


नेपालगञ्ज, मङ्सिर  । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा मङ्सिर १४ गते हुने भनिएको जिल्ला निर्वाचन कार्यक्रम स्थगित गरिएको छ । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत रेवतीरमण भट्टराईको अध्यक्षतामा आइतबार बेलुकी बसेको आकस्मिक बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।
बाँकेमा सोमबार उम्मेदवारी मनोनयन दर्ता र मंगलबार मतदान गर्ने भनी निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो ।  लुम्बिनी प्रदेशको प्रदेश अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने स्थिति देखिएपछि केन्द्रिय निर्वाचन समितिको निर्देशनमा जिल्लाको निर्वाचन स्थगित गर्नुपरेको जिल्ला निर्वाचन अधिकृत भट्टराईले बताए ।  
लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन यही मंसिर १५ गतेदेखि प्रारम्भ हुने भएकोले मंसिर १४ गते प्राविधिक एवम अन्य कारणबाट निर्वाचन मतदान÷मत गणना सम्पन्न हुन नसकेमा प्रदेश अधिवेशनमा बाँके जिल्लाका प्रदेशसभा अधिवेशन प्रतिनिधिको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भएकाले स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । 
शुरुमा क्रियाशील सदस्यताको विवाद र पछि निर्वाचन समितिको सचिवालयमा लागेको तालाबन्दी र वडा तह, गाउँपालिका÷नगरपालिका, प्रदेश सभा र क्षेत्रको निर्वाचन परिणाम ढिलो आउँदा बाँकेमा निर्वाचन कार्यक्रम धकेलिदै आएको थियो । 
निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार मतदाता नामावली प्रकाशनसहित उम्मेदवारी मनोनयनका लागि फाराम वितरण भइसकेको थियो तर केन्द्रको निर्देशन पश्चात निर्वाचन कार्यक्रम स्थगित गर्नुपरेको जनाईएको छ । 
बाँके जिल्लाको निर्वाचन स्थगित भएपछि संस्थापन समूह र कोइराला पौडेल दुवै समूहले राहत महसुस गरेका छन् । यो निर्णयबाट कोइराला पौडेल समूहले निर्वाचन तयारीको समय पाएको छ भने संस्थापन समूहमा सभापतिका आकांक्षी धेरै रहेकाले उनीहरुले मिलाउने समय पाएका छन् ।
निर्वाचन स्थगित भएकोले अब सभापतिका आकांक्षीलाई मिलाएर अगाडि लैजान सहज हुने संस्थापन समूहका एक नेताले बताए । 
उनले आफ्नो समूह जिल्लामा निकै बलियो भएपनि समूहबाट एकभन्दा बढी उम्मेदवार भएमा कोइराला पौडेल समूहका उम्मेदवारले बाजी मार्ने आशंका रहेको बताए । हालसम्म भएको निर्वाचनमा जिल्लाका अधिकांश पदमा संस्थापन समूहकै उम्मेदवार विजयी भएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार