सौराहा, मङ्सिर । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन एक दिन लम्बिँदा करिब एक करोड रुपियाँको भार थपिएको बताएका छन ।सोमबार बिहान सकिने गरी बनेको कार्यतालिका मङ्गलबारसम्म लम्बिएको छ । एकदिन थपिँदा प्रतिनिधिलाई खाना आवासलगायत निर्वाचनको खर्च गरी एककरोड रुपियाँ थपिने एमाले निर्बाचन कार्यालयले जनाएको छ ।
आवास व्यवस्थापन समितिका संयोजक कृष्णभक्त पोखरेलले तोकिएको समयमा महाधिवेशन सम्पन्न नभएपछि थप व्यवस्था मिलाइएको बताएका छन । उनले भने,सर्वसम्मत गर्ने प्रयास गरेपनि सफल नभएपछि महाधिवेशनको मिति लम्बिएको छ, यसबाट आवासमा मात्रै थप ७० लाख रुपियाँ खर्च वृद्धि भएको छ ।महाधिवेशनमा दुई हजार २७५ प्रतिनिधि, अतिथि र स्वयम्सेवक तीन हजार पाँच सय जनाको लागि होटलका बेड बुकिङ गरिएको थियो ।
प्रतिनिधि बसेको होटलले तीन छाक खानाको व्यवस्था गर्ने सम्झौता भएको थियो । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपियाँमा सम्झौता गरेको थियो ।मङ्सिर ११ र १२ गते सकिने भनिएको महाधिवेशनको बन्द सत्र लम्बिएको हो । अध्यक्षलगायत केही पदमा निर्वाचन हुने भएको छ । सोमबार दिउँसो र बेलुकाको खाना, मङ्गलबार बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्नेगरी अर्काे सम्झौता भएको क्षेत्रीय होटल व्यवसायी सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिएका छन । थप एक दिन खाना र बेडका लागि करिब ७० लाख रुपियाँमा सम्झौता भएको उनले बताए । बन्द सत्र लम्बिएपछि टाढा घर भएका प्रतिनिधि भने फर्किसकेका छन् ।