चितवन, मंसिर । चार दिनदेखि चितवनमा नेकपा एमालेको दशौ महाधिबेशन भइरहेको छ । निकै तामझामका साथ भइरहेको नेकपा एमालेको सो अधिबेशनमा सहमतिमा अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु चयन गर्ने सोच अध्यक्ष ओलीको थियो । सो लामै प्रयत्न गरे ।
अन्ततः अध्यक्ष ओलीले रावलको च्यालेञ्ज फेस गर्नै पर्ने अवस्था आयो । चुनावी प्रतिष्पर्धा हुने नै भयो । अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने भएको छ ।
सौराहामा जारी दशौं महाधिवेशनको बन्दसत्र रोकेर दिनभर नेतासँग छलफल गरेका ओलीले रावललाई उपाध्यक्ष बस्न आग्रह गरेका थिए ।
मध्यरातमा शुरू भएको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम ओलीले प्रस्ताव गरेका
थिए भने अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल भयो । उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव समेत गरेका तर रावलले सो प्रस्ताव अस्वीकार गरेको जनाइएको छ ।
बेखुका ७ बजेदेखि सुरु भएको बन्द सत्र रातभर जसो नै चलेको थियो । बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा ओलीले सहमति र एकताका लागि आफूले धेरै प्रयास गरेको पनि बताएका छन ।
असहमति र असन्तुष्टि हुनु स्वाभाविक भए पनि बाहिर लैजान राम्रो नभएको भन्दै उनले भने, ‘भीम रावललाई धेरै पटक उपाध्यक्षमा बस्न आग्रह गरेको जनाए ।
रावलले भने लामो बहस गर्न नचाहेको र अध्यक्षको उम्मेदवार हुने बताएको जनाएका छन । रावलले भने, ‘लामो बोल्दिनँ । मलाई फर्किन गाह्रो हुन्छ, अध्यक्षमा उम्मेदवारी दिन्छु ।’
रावलले अडान नछाडेपछि हलमा होहल्ला र रावलविरुद्ध नारा हुटिङ पनि भयो । तर ओलीले शान्त रहन आग्रह गर्दै भने, भीम रावल उम्मेदवार हुन्छु नै भन्ने हो भने उठ्न दिनुपर्छ ।’ ओलीले सहमतिका लागि १९ पदाधिकारीको प्रस्ताव राखेको र त्यसअनुसार उम्मेदवारी दिन नेतालाई भनेका छन ।
एमालेको निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बाका अनुसार सोमबार बिहान ९ देखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ओलीले सहमतिका लागि प्रस्ताव गरिएका र अरुले पनि यो अवधिमा उम्मेदवारी दर्ता गरेपछि निर्वाचनको बाँकी प्रक्रिया अघि बढ्ने समेत उनले जानकारी दिएका छन् ।