२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

उपसभापति निधिले भने : "संविधान संशोधनमा कांग्रेसले आधिकारिक निर्णय गरिसकेको छ"

'आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउन आफू सभापति बन्न खोजेको हुँ '

आइतवार , मंसिर १२, २०७८

धनुषा, मङ्सिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसको बहुमतको एकल सरकार बनाउन सभापति बन्न चाहेको बताउनुभएको छ ।

धनुषा क्षेत्र ३ को प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको आज नगराइनमा उद्घाटन गर्दै उहाँले आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउन आफू सभापति बन्न खोजेको उल्लेख गर्नुभयो ।

अघिल्लो निर्वाचनमा कांग्रेसले बहुमत नपाउँदा कम्युनिष्टको सरकार बन्यो, तीन वर्षभित्रै कम्युनिष्ट सरकारले मुलुकलाई सधँै अस्थिर बनाउँदै तहस नहस पारेको अवस्था छ ।

कांग्रेसको एकल सरकार बनाउन म सभापति बन्न चाहेका हुँ, उहाँले भन्नुभयो, संविधानले प्रदेश प्रहरीको व्यवस्था गरेको छ, निजामती सेवाको अधिकार दिएको छ तर यी सबै अधिकार प्रदेशले प्रयोग गर्न पाइरहेका छैनन् । प्रदेशको अधिकार सुनिश्चित गर्नतर्फ अहिलेसम्म कसैले ध्यान दिनसकेको छैन ।

त्यसका लागि पनि म सभापति बन्न चाहेको छु । उपसभापति निधिले मधेशी, दलित, जनजाति, मुस्लिमलगायत उत्पीडित वर्गको अधिकार सुरक्षित गर्न संविधान संशोधनमा जोड दिनुभयो ।

अहिलेको लोकतान्त्रिक गणन्त्रात्मक संविधानलाई कायम राख्दै संविधान संशोधन गर्न चाहेको छु , उहाँले भन्नुभयो, संविधान संशोधनका लागि कांग्रेसले त आधिकारिक निर्णय नै गरिसकेको छ ।  कम्युनिष्टले मानेका छैनन् । यी सबै कुराका लागि पनि नेतृत्व परिवर्तन जरूरी छ ।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री एवं कांग्रेस संसदीय दलका नेता राम सरोज यादव, कांग्रेस केन्द्रीय सदस्य मिनाक्षी झा, सांसद स्मृतिनारायण चौधरी, प्रदेश २ का प्रदेशसभा सदस्य शिवचन्द्र चौधरी, प्रमिला दासलगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार