पर्सा, मङ्सिर । समय अभावका कारण पर्सामा नेपाली काङ्ग्रेसको जिल्ला र पालिका अधिवेशन १४ औं महाधिवेशनपछि हुनेभएको छ । जिल्ला निर्वाचन अधिकृत नरेन्द्र केसीका अनुसार, मङ्सिर १० गतेभित्र वडा जिल्ला पालिका प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गराई सक्नुपर्नेमा प्राविधिक कारणले जिल्ला र पालिकाको निर्वाचन महाअधिवेशनपछि गरिने छ ।
निवार्चन अधिकृत केसीले वडा अधिवेशन गर्न समय बढी खर्चिनु परेकाले जिल्ला र पालिकाको अधिवेशन हालका लागि स्थगित गरी मङ्सिर १२ गते क्षेत्रीय अधिवेशन र १३ गते प्रतिनिधिसभाको निर्वाचन हुने जानकारी दिनुभयो ।
उहाँले केन्द्रीय निर्वाचनको तालिका अनुसार, १६ र १७ गते एकै दिन सातै प्रदेशमा क्षेत्रीय अधिवेशन र प्रतिनिधिसभाको निर्वाचन गराउनुपरेकाले क्षेत्रीय र प्रतिनिधिसभाको अधिवेशन गराउनु परेको बताउनुभयो ।
जिल्ला कार्य समिति पर्साका सचिव श्याम पटेलले वडा अधिवेशन गर्न नौ दिन लागेपछि निर्वाचनको सम्पूर्ण कार्य तालिका प्रभावित भएपछि बाध्यता बस जिल्ला र पालिकाको निर्वाचन महाअधिवेशनपछि गर्ने सर्वसम्मत निर्णय भएको जानकारी दिनुभयो ।