काठमाडौं, मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज शुक्रबार एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन हुँदैछ । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन सुरु भइसकेको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्बाचन समितिका अनुसार, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामा आज महाधिवेशन हुनेछ ।
प्रदेश दुईका आठ जिल्लाबाहेक बाँकीमा आजदेखि नै जिल्ला अधिवेशन सुरु हुने निर्वाचन समिति सदस्य एकराज पोखरेलले जानकारी दिएका छन ।
सदस्य पोखरेलले भने, काठमाडौंमा सोमबार जिल्ला अधिवेशन हुँदैछ भने ललितपुरमा आज जिल्ला अधिवेशन सुरु हुँदैछ ।
मकवानपुरमा प्रदेश अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । चितवनमा पनि जिल्ला अधिवेशन अनिश्चित छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहीबारसम्म करिब ३० जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका रसुवा, खोटाङ, दार्चुला, धनकुटामा अधिवेशन हुन बाँकी छ । सोलुखुम्बुमा पहिलो चरणमा सभापतिका उम्मेदवार कसैले पनि बहुमत ल्याउन नसकेपछि मंसिर १४ गते फेरि निर्वाचन हुँदैछ ।
कांग्रेस प्रदेश अधिवेशन मंसिर १६–१७ गते हुँदैछ भने केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । केन्द्रीय महाधिवेशनका लागि मतदाता रहेका महाधिवेशन प्रतिनिधि चयन अन्तिम चरणमा रहेको छ ।