२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

प्रदेश १ अधिवेशनको तयारी गरिँदै :  "दुई हजार प्रतिनिधि सहभागी हुने "

“संघीयतासँगै अब कांग्रेस राजनीतिको नयाँ अभ्यासमा जाने, अधिवेशनको तयारी थालिसकेका छौं ”

बुधवार , मंसिर ८, २०७८

 

विराटनगर, मङ्सिर  । यही मङ्सिर १६ गते विराटनगरमा हुन गइरहेको नेपाली काँग्रेस प्रदेश  १ को अधिवेशनको तयारी थालिएको छ । त्यसका लागि  प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक सम्पन्न भयो  । 
बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा कांग्रेस १ नं प्रदेश संसदीय दलका नेता राजिव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका छन् । 
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाली काँग्रेस प्रदेश न १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नं २ शङ्करपुर (विराट नर्सिङ होम) को पूर्वतर्फ रहेको खाली जमिनमा उद्घान हुने र उक्त कार्यक्रममा एक हजार  सात सय प्रतिनिधि सहित दुई हजारजना सहभागी हुनेछन् ।
अधिवेशनको उद्घाटन मङ्सिर १६ गते बिहीवार विराटनगरमा हुने बताउँदै संयोजक कोइरालाले भने, “संघीयतासँगै अब कांग्रेस राजनीतिको नयाँ अभ्यासमा जानेछ । हामीले अधिवेशनको तयारी थालिसकेका छौं ।”  
अधिवेशन सम्पन्न गर्न आवास लगायत सबै व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरड जिल्ला समितिको रहने कोइरालाले जानकारी गराएका छन ।  अधिवेशन सम्पन्न गर्न नेपाली काँग्रेस मोरडका सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा समिति बनेको छ भने सह संयोजकमा  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, केन्द्रीय सदस्यहरु अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ सङ्कलन समिति गठन गरिएको छ । 
व्यवस्थापनको जिम्मा पाएका मोरङ कांग्रेसका सभापति लिम्बूले अधिवेशन सम्पन्न गर्न कम्तिमा एककरोड रुपियाँ  खर्च हुने अनुमान गरिएको बताएका छन ।   
सो प्रतिनिधिको आवास, खानपान देखि अन्य खर्चसमेत गर्दा त्यति खर्च हुने  उनको भनाइ छ । प्रतिनिधिको दर्ता शुल्कबाट ३२ लाखसम्म उठ्नसक्ने पनि उनले  बताए । 
कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश  १ का १४ जिल्लाका २८ सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र सङ्घीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले सात सयजना अधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्षसहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना  केन्द्रीय सदस्यका साथै भातृ संस्था र सुभेच्छुक संस्थाबाट प्रतिनिधित्व हुने गरी प्रदेश अधिवेशनका लागि मतदाता रहने छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिले प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला संयोजक रहेको आयोजक समिति गठन गरेको छ । 
समितिका सदस्य सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेशसभा संसदीय दलका नेता र प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहेको बताइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार