२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काँग्रेस प्रदेश १ अधिवेशनको तयारी

दुई हजार प्रतिनिधि सहभागी हुने

बुधवार , मंसिर ८, २०७८

विराटनगर, मङ्सिर । यही मङ्सिर १६ गते विराटनगरमा हुन गइरहेको नेपाली काँग्रेस प्रदेश नं १ को अधिवेशनको तयारी थालिएको छ । त्यसका लागि प्रदेश १ अधिवेशन आयोजक समितिका संयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बुधबार विराटनगरमा बैठक सम्पन्न भयो बैठकले पार्टी प्रादेशिक संरचनामा गएपछि हुन लागेको प्रदेशको अधिवेशन भव्य रुपमा आयोजना गर्ने निर्णय गरेको छ । प्रचार समितिका संयोजक तथा कांग्रेस १ नं प्रदेश संसदीय दलका नेता राजिव कोइरालाले पत्रकार सम्मेलन आयोजना गरी अधिवेशन तयारीको विषयमा जानकारी गराएका छन् ।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाली काँग्रेस प्रदेश न १ को प्रथम अधिवेशन विराटनगर महानगरपालिका वडा नं २ शङ्करपुर (विराट नर्सिङ होम) को पूर्वतर्फ रहेको खाली जमिनमा उद्घान हुने र उक्त कार्यक्रममा एक हजार  सात सय प्रतिनिधि सहित दुई हजार जना सहभागी हुनेछन् ।

अधिवेशनको उद्घाटन मङ्सिर १६ गते बिहीवार विराटनगरमा हुने बताउँदै संयोजक कोइरालाले भन्नुभयो ,संघीयतासंगै अब कांग्रेस राजनीतिको नयाँ अभ्यासमा जानेछ । हामीले अधिवेशनको तयारी थालिसकेका छौं ।अधिवेशन सम्पन्न गर्न आवास लगायत सबै व्यवस्थापनको जिम्मा नेपाली कांग्रेस मोरड जिल्ला समितिको रहने कोइरालाले जानकारी गराएका छन । अधिवेशन सम्पन्न गर्न नेपाली काँग्रेस मोरडका सभापति डिगबहादुर लिम्बू संयोजकत्वमा र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली सहसंयोजकका साथै केन्द्रीय सदस्यहरु अमृत अर्याल, पवन सारडा र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारी सल्लाहकार रहेको अर्थ सङ्कलन समिति गठन गरिएको छ ।व्यवस्थापनको जिम्मा पाएका मोरङ कांग्रेसका सभापति लिम्बूले अधिवेशन सम्पन्न गर्न कम्तिमा एक करोड रुपियाँ  खर्च हुने अनुमान गरिएको बताउनु भयो । सो प्रतिनिधिहरुको आवास, खानपान देखि अन्य खर्चसमेत गर्दा त्यति खर्च हुने  उहाँको भनाइ छ ।

प्रतिनिधिहरुको दर्ता शुल्कबाट ३२ लाखसम्म उठ्न सक्ने पनि उहाँले बताउनुभयो । नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा प्रदेश १ का १४ जिल्लाका २८ सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय अध्यक्ष र सङ्घीय महाधिवेशन प्रतिनिधिसहित २५ जनाका दरले सात सयजना अधिवेशन प्रतिनिधि, ५६ प्रदेश निर्वाचन क्षेत्रबाट १७ जनाका दरले प्रदेश क्षेत्रका क्षेत्रीय अध्यक्ष सहितका प्रदेश अधिवेशन प्रतिनिधि गरी जम्मा ९५२ जना र यस प्रदेशका १९ जना केन्द्रीय सदस्यका साथै भातृ संस्था र सुभेच्छुक संस्थाबाट प्रतिनिधित्व हुनेगरी प्रदेश अधिवेशनका लागि मतदाता रहने छन् ।नेपाली कांग्रेस केन्द्रीय समितिले प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला संयोजक रहेको आयोजक समिति गठन गरेको छ ।समितिका सदस्य सम्बन्धित प्रदेशभित्रका केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेशसभा संसदीय दलका नेता र प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहेको बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार