बिराटनगर, मङसिर । नेपाली कांग्रेसको १४ औ महाअधिवेशनको प्रदेश १ अन्तर्गतका स्थानीय, क्षेत्रीय तथा जिल्ला अधिवेशन सम्पन्न भएका छन् । यस क्रममा पहाडी जिल्ला ओखलढुंगा र तेह्थुममा मंगलबार जिल्ला सभापतिलगायत जिल्ला समितिका लागि मतदान भएको छ ।
ओखलढुंगा जिल्लामा अपरान्ह ४ बजेदेखि मतदान प्रारम्भ भएको छ । निर्वाचनको क्रममा जिल्ला सभापतिमा तेजेन्द्र खनाल र बालकृष्ण दहालबीच प्रतिस्पर्धा भएको छ । ओखलढुंगामा एक हजार ४४३ मतदाता रहेका छन ।
त्यसैगरी तेह्थुम जिल्लामा जिल्ला अधिवेशन अन्तर्गत मंगलबार अपरान्ह मतदान सम्पन्न भइ मतगणना प्रारम्भ भएको छ । तेह्थुममा जिल्ला सभापतिमा कमल ढुंगाना र अर्जुन तुम्वाहाम्फेबीच प्रतिस्पर्धा भएको छ ।
त्यसैगरी, सुनसरीको चारवटा संसदीय निर्वाचन क्षेत्रमध्ये १,२ र ४ मा क्षेत्रीय अधिवेशन अन्तरगत मंगलबार निर्वाचन भएको छ । क्षेत्र नम्बर ३ मा सहमतिका लागि गरिएको प्रयास सफल नभएपछि भोली मतदान हुने कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले जानकारी दिएका छन ।
भोजपुरमा जिल्ला अधिवेशन सम्पन्न
सङ्खुवासभा समाचारदाता ध्यान कुलुङका अनुसार नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत सम्पन्न भोजपुरको जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा विनोद बान्ताव निर्वाचित हुनुभएको छ । सभापति पदका लागि तीन उमेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत प्राप्त नगरेपछि सवैभन्दा बढी मत ल्याउनु हुने बान्तावा सभापति बन्नुभएको हो ।
सभापति बन्नुभएका बान्तावाले ४१५ मत ल्याउनुभएको थियो भने उहाँका प्रतिद्वन्दि नारदमणि राईले ३९२ र बालकृष्ण थापाले ३६० मत प्राप्त गर्नुभएको हो । नेपाली कांग्रेसको विधान अनुसार विजयी बन्न ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । उक्त मत परिणाम कसैले प्राप्त नगरे पुनः मतदान गर्नुपर्ने हुन्छ ।
सभापति पदका लागि पुन मतदान गर्नुको विकल्पमा सहमति जुटाएर आफु जिल्ला सभापति बनेको नवनिर्वाचित सभापति बान्तावाले जानकारी दिनुभयो ।
यता सङ्खुवासभामा भने पहिलो चरणमा नै जिल्ला अधिवेसन सम्पन्न हुदै सभापति पदमा दिपक खड्का सभापतिमा निर्वाचित हुनुभएको थियो ।
सो लुसभापतिमा दोस्रो चरणको निर्वाचन
सोलुखुम्बु नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला कार्य समितिको लागि भएको निर्वाचनको मतगणनामा सभापतिका तीनैजना उमेदवारले ५० बढी प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुनेभएको छ ।
मङ्सिर १ गते भएको अधिवेसनमा तीन जनाको उमेदवारी परेपछि भएको मतदानबाट कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशत बढी मत प्राप्त गर्न नसकेपछि सभापति पदको निर्वाचन यही १४ गते हुने भएको छ ।
कुल खसेको मतमध्ये सभापतिका उम्मेदवार विनोद बस्नेतले ४२८ मत, नाम्गेलजाङ्बु शेर्पाले ४१८ मत र रामबहादुर बस्नेतले ५ मत प्राप्त गर्तुभएको थियो ।
खोटाङमा भोली जिल्ला अधिवेशन :
नेपाली कांग्रेसको १४ औँ माहाधिवेशन अन्तरगत खोटाङ जिल्लाको अधिवेशका भोली हुने भएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेद्वारको अन्तीम नामवली अनुसार जिल्ला सभापतिका लागि पुर्व राज्यमन्त्री सर्वधन राई र पुर्व पार्टी सभापति एवं महासमिति सदस्य बिष्णुकुमार राईबीच प्रतिस्पर्धा हुने भएको छ ।
जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिका लागि भोली सदरमुकाम दिक्तेलमा मतदान हुने कार्य तालिका रहेको जिल्ला निर्वाचन अधिकृत शंकर भट्टराईले जानकारी दिएका छन ।
छ वटा संसदीय निर्वाचन क्ष्ोत्र रहेको मोरङ जिल्लाको क्षेत्र नम्बर २,३,४ र ६ मा क्षेत्रीय पदाधिकारी तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि मतदान भएको छ । क्षेत्र नम्बर १ र ५ मा भने यस अघि नै सर्वसम्मत रुपमा क्षेत्रीय सभापति चयन भइसकेको छ ।