चितवन, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने चाहेको बताउनुभएको छ । यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा आज उहाँले अदालतमा देखिएको समस्या अदालतभित्र बाटै समाधान हुनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, अहिले अदालतमा देखिएको समस्या सकेसम्म अदालतभित्रबाटै समाधान होस् भन्ने हाम्रो चाहना हो, राजनैतिक दलहरुले अदालतमाथि कुनै खालको दबाब र हस्तक्षेप गरेको कहीँ कतै नदेखियोस् भन्ने चाहना हो ।अदालतमा देखिएको समस्याप्रति दलहरु चिन्तित रहेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, गठबन्धनका तर्फबाट हामीले बनाएको उच्चस्तरीय समितिको पहिलो औपचारिक बैठकले न्यायालयमा देखा परेको समस्याबारे गम्भीर ध्यानाकर्षण भएको र यसको गरिमा स्वतन्त्रतालाई अविच्छिन्न राख्ने गरी छिटोभन्दा छिटो समाधान होस् भन्न हाम्रो चाहना रहेको बताइसकेका छौँ ।केही दिनभित्र नै समस्या समाधान हुने आशा रहेको उहाँको भनाइ थियो । उहाँले चाँडै समस्या समाधान गर्न अपिल गरिएको बताउनुभयो ।
उहाँले एमसिसीको विषयमा सर्वदलीय बैठकले टुङ्गो लगाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, एमसिसी त्यति ठूलो समस्या हो भन्ने लाग्दैन, सर्वदलीय, सर्वपक्षीय छलफलबाट यसको टुङ्गो लाग्छ । नेकपा (एमाले)को महाधिवेशनपछि हुने सर्वदलीय बैठकमा यस विषयमा छलफल भएर अघि बढ्ने उहाँको भनाइ थियो ।
उहाँले थप्नुभयो, सुरुआतमा गरिएको समझदारी र पछि भएको समझदारीमा देखिएको विवादमा मात्रै केही समस्या हो ।पछिल्लो समय भएको समझदारीमा देखिएको अन्तरविरोधका कारण समस्या आएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, हामी अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने चाहँदैनौँ । नेपाल र अमेरिकाबीचको सम्बन्ध ७५ वर्ष पुरानो रहेको जनाउँदै उहाँले एमसिसीको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनले सहमतिमा नै नेतृत्व चयन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । वडा, नगर हुँदै हुने अधिवेशनलगत्तै राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने उहाँले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीसँग एकता हुन लागेको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले सहकार्य भएर अघि बढ्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, विप्लवजीसँग मेरो नियमित जसो सम्पर्क भएको छ, अहिले भर्खर पार्टी एकता भन्ने होइन, सहकार्य गरेर जानुपर्छ भन्ने हो । बिस्तारै परिवर्तनका मुद्दामा सहकार्य गर्दै जाँदा एकता हुन पनि सक्ने उहाँको भनाइ थियो ।