२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेसले जिल्लासँग समन्वय नगरी कुनै दलसँग तालमेल गर्दैन : प्रवक्ता शर्मा

बुधवार , मंसिर १, २०७८

भरतपुर, मङ्सिर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा सम्बन्धित जिल्लाको रायअनुसार गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस भरतपुर महानगरपालिका ७ ले आज यहाँ आयोजना गरेको दलमा रूपान्तरण, देश रुपान्तरणका लागि एवं ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रमर्मा उहाँले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा जिल्ला र त्यहाँका महाधिवेशन प्रतिनिधिको रायअनुसार गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, आम निर्वाचनमा एक्लै लड्ने कि गठबन्धन बनाएर निर्वाचन लड्ने भन्ने विषयमा जिल्लाको, महाधिवेशन प्रतिनिधिको रायअनुसार हुन्छ । काठमाडाँैमा बसेकाले निर्णय गरेर लाद्ने काम हुँदैन । केन्द्रको निर्णयले तल्लो तहका नेता कार्यकर्ताको भावनामा ठेस पुग्न नहुने उहाँले बताउनुभयो ।

कार्यक्रममा उहाँले कांग्रेसले १, २, ३, ४ को नीति अपनाएर पार्टीभित्र रूपान्तरणको सुरुआत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, एकपटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद भएपछि एग्जिट (बाहिरिनु) हुनुपर्छ ।

चार पटकसम्मको संसदीय कार्यकालभित्र सबै भए वा नभए पनि पछि लोभ गर्न नहुने उहाँको भनाइ थियो । देशमा रूपान्तरण गर्न समाज रूपान्तरण हुन जरुरी रहेको भन्दै उहाँले जनतालाई बुझाउन सक्ने कांग्रेस बनाउनु आवश्यक रहेको बताउनुभयो । कांग्रेसले सरकारमा रहँदा गरेका कामलाई बुझाउने काम गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रवक्ता शर्माले भन्नुभयो, “कांग्रेस महाधिवेशनपछि १५ वर्षे नीति अधिवेशन बनाएर अघि बढ्नु पर्छ । पन्ध्र वर्ष काङ्ग्रेसले देश चलाउँदा कस्तो बनाउने भन्ने स्पष्ट नीतिका साथ जनतामाझ जानु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

हरेक वर्गका जनताको भावनाअनुसार कांग्रेसलाई चलाउनका लागि दलमा रूपान्तरण र देश रूपान्तरणका लागि आफूले ४२ बुँदे अवधारणा पत्र अघि सारेको भन्दै उहाँले अब देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको जिकिर गर्नुभयो । कांग्रेसलाई बलियो बनाउनका लागि गाउँतहबाटै बलियो बन्नुपर्ने उहाँको तर्क थियो ।

वडा सभापति विनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, बिनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठलगायतले बोल्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो । यस्तै वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार