२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र

अध्यक्ष प्रचण्डले भने : ‘माओवादी केन्द्र मधेसी जनताको मित्र’

मधेसका दलालले माओवादी केन्द्रलाई विरोधीका रूपमा चित्रण गरे

बुधवार , मंसिर १, २०७८


जलेश्वर, मङ्सिर  । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी मधेस र मधेसी विरोधी नभएको बताएका छन ।  
महोत्तरीको रामगोपालपुरमा बुधबार आयोजित आमसभालाई सम्बोधन गर्दै उनले मधेसका दलालले माओवादी केन्द्रलाई विरोधीका रूपमा चित्रण गरिएको बताएका छन ।  उनले अर्बौं रुपियाँ खर्च गरेर यस्तो प्रचार प्रसार गरेको आरोप पनि लगाए ।  
उनले मधेसका महन्थ ठाकुर र राजेन्द्र महतो जस्ताले आफ्नो पार्टीलाई मधेसविरोधी रूपमा चित्रण गरेको आरोप लगाउँदै भने, “मधेसी जनतालाई स्पष्ट हुन जरुरी छ, हामी मधेस र मधेसीको मित्र हौँ, उत्पीडित वर्ग, समुदायको हक अधिकारको वकालत गर्ने कसरी मधेस विरोधी हुनसक्छ ?”
अध्यक्ष प्रचण्डले मधेसलाई समृद्ध र स्वायत्त बनाउन आफ्नो पार्टीले ठूलो लडाइँ लडेको तथा रगत बगाएको चर्चा गरे ।  
अध्यक्ष प्रचण्डले जुन पार्टीले (माओवादी केन्द्र) इमान्दारीपूर्वक मधेस, मधेसी, उत्पीडित वर्ग र समुदायका लागि लड्यो त्यस्तालाई सहयोग गर्न आग्रह गरे ।  उनले अहिले पनि मधेसी जनताले अधिकार नपाएको चर्चा गर्दै सबै एक ढिक्का भयौँ भने संविधान संशोधन गराएर भए पनि हक अधिकार लिन सकिने उनले विश्वास व्यक्त गरे । 
उनले यसपाली प्रदेश २ मा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी हुने विश्वास व्यक्त गरे ।   आमसभा अघि अध्यक्ष प्रचण्डले रामगोपालपुर नगरपालिकाको वडा नं. २, ३, ४, ६, ७, ८ र ९ मा आधारभूत स्वास्थ्य केन्द्र तथा रामगोपालपुरमा रहेको स्वास्थ्य चौकीमा एक कोभिड अस्पतालको उद्घाटन  गरेका छन । 
अध्यक्ष प्रचण्डले भने, “कुनै नागरिकले मौलिक हक प्राप्त नभएमा सोविरुद्ध अदालत जान सक्ने अधिकार रहेको छ, रामगोपालपुर नगरपालिकाले स्थानीय जनताको मौलिक हक कार्यान्वयन गरेकोमा बधाई दिन चाहन्छु ।”
यसैबीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगमनमा महोत्तरी जिल्लाको एक पालिकाले पालिकामा दिइएको बिदाको व्यापक विरोध भएपछि पालिकाले सो बिदा सच्याएको छ । 
माओवादीका अध्यक्ष प्रचण्डको बुधबार आउने भएपछि जिल्लाको रामगोपालपुर नगरपालिकाले बुधबार एक दिने बिदाको घोषणा गरेको थियो । त्यसको विरोध भएपछि नगरपालिकाले बुधबार अर्को सूचना निकाल्दै सो बिदा सच्याएको छ । 
सो अवसरमा दिइएको बिदाको विरोध भएपछि नगरप्रमुख अशोककुमार मण्डलले अर्को सूचना प्रकाशित गर्दै भाइ बहिनीको प्रेमको प्रतीक पर्वका रूपमा रहेको सामाचकेवाको अवसरमा दुई दिन विद्यालय मात्रै बिदा रहेको जानकारी दिएका छन ।  

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार