२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

जसपा अध्यक्ष यादवले भने : 'जनसङ्ख्याका आधारमा मधेशीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ '

मंगलवार , कार्तिक ३०, २०७८

राजविराज, कात्तिक । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताउनुभएको छ । जसपा नेपाल कञ्चनरूप नगर कार्यसमितिद्वारा आज सप्तरीको कञ्चनपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले भन्नुभयो, जनसङ्ख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ ।

अध्यक्ष यादवले देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै मधेशी, महिला, आदिवासी जनजाति, दलित र मुस्लिमलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको भएपनि भेदभावका कारणले सरकारी सेवामा उनीहरुको प्रवेश कम देखिएको बताउनुभयो ।

दलित, मधेशी, थारु, मुस्लिम र जनजातिलाई अधिकार सम्पन्न बनाउनका लागि जसपा नेपालले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उहाँले देशमा सदियौँदेखि पछाडि पारिएका जाति समुदायको हकअधिकार अझै पूर्णरुपले स्थापित भइसकेको छैन, विभेद र उत्पीडनमा परेको ती जाति समुदायको अधिकार सुनिश्चितताको लडाइँ निरन्तर जारी नै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, भूमि व्यवस्था वैज्ञानिक नभएसम्म किसान आर्थिकरुपले सबल हुन सक्दैन् । यसका लागि आफ्नो पार्टीले प्रयत्न जारी राखेको छ । बेमौसमी वर्षाबाट क्षति भएका किसानको राहतका लागि सरकारले रु साढे पाँच अर्ब बजेट छुट्याएको बताउँदै अध्यक्ष यादबले उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले देशमा सङ्घीयता, गणतन्त्र, समावेशीतासहितको व्यवस्था स्थापनामा जसपाको अग्रणी भूमिक रहेको उल्लेख गर्दै स्थानीय सरकारदेखि संसद र राज्यको शासन र प्रशासनसम्म मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, महिला, अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको सुनिश्चित सङ्घीय प्रणालीकै कारण भएको प्रष्ट पार्नुभयो ।

लोकतन्त्रको रक्षा गर्ने दायित्व समाजवादी पार्टीको भएको बताउँदै उहाँले मधेशमा ठूलो जनसङ्ख्या अहिले पनि नागरिकताबाट वञ्चित रहेको बताउँदै उहाँले उनीहरुलाई नागरिकता दिलाउन नागरिकता ऐन संशोधन हुन आवश्यक रहेको छ भन्नुभयो ।

प्रदेश नं २ का अर्थमन्त्री शैलेन्द्र साहले पार्टी प्रवेशले जिल्ला र सङ्गठनमा थप ऊर्जा आएको बताउनुभयो । सो अवसरमा पार्टीमा प्रवेश गर्नेहरुलाई अध्यक्ष यादवले स्वागत गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार