काठमाडौं, कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुले बिरोधमा उत्रिएको नेपाल बारलाई न्यायालय सुधारको एजेण्डामा कुनै सम्झौता नगर्ने बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले तोकेको इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा नहेर्दै आएका सर्वोच्चका न्यायाधीशहरुबीच सोमबार फुट आएको थियो । उनीहरुबाट अलग भएका पाँचमध्ये चार न्यायाधीश मंगलबार नियमित काममा फर्किएका छन् ।
तर अरु न्यायाधीशहरुले भने पाँच जना पनि आफूहरुभन्दा अलग नभएको दाबी गरेका छन् । मंगलबार भएको छलफलमा नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले न्यायाधीशहरुको समूहमा आएको फाटोबारे चासो राखेका थिए ।
बार उपाध्यक्ष रक्षा बस्यालले सञ्चारकर्मीलाई भनिन्, ‘उहाँहरुले पटक पटक भन्नुभयो, उहाँहरु हामीभन्दा बाहिर होइन ।’उनका अनुसार, छलफलमा न्यायाधीशहरुले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति चिन्ता व्यक्त गरेका छन् ।
‘ग्रेसफुल एक्जिट के हुन्छ भनेर छलफल गरिरहेका छौं भनेर बताउनुभयो,’ भेटपछि बस्यालले बताइन् । तर न्यायालय सुधारका लागि पहल गर्ने र विकृति विसंगति अन्त्यमा कुनै सम्झौता नगर्ने न्यायाधीशहरुले बताएका छन् ।