पोखरा, कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सूचना प्रविधिको प्रयोग गर्दै सेवाग्राहीलाई छरितो रूपमा सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिएका छन । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले चौथो र पाँचौँ तहका कर्मचारीका लागि गरेको सेवाकालीन तालिमको उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले उक्त निर्देशन दिएका छन ।
उनले अहिले पुराना ढड्डा पल्टाएर बस्ने बेला गइसकेको भन्दै कार्यालय व्यवस्थापन र सेवा प्रवाह दुवै पक्षको ख्याल गरेर काम गर्न आग्रह गरे । क्षमता अभिवृद्धि र कार्यशैलीमा परिवर्तन ल्याउनका लागि तालिमहरू हुने गरेर ती तालिमको उपलब्धि निकै कम हुने गरेको प्रसङ्ग उठान गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार मातहतको प्रतिष्ठानले त्योभन्दा माथि उठेर काम गर्दै आएको बताए ।
मुख्यन्यायाधिवक्ता रोहितराज बास्तोलाले सेवाग्राही आएर पहिला ठोक्किने नै सहायकस्तरका कर्मचारीसँग भएकाले नरम र सहज व्यवहार प्रस्तुत गर्न आग्रह गरे ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले सहायक स्तरका कर्मचारीका लागि थालेको ३० कार्यदिने तालिममा कार्यालय सञ्चालन तथा व्यवस्थापनका बारेमा सैद्धान्तिक, व्याहारिक पक्षका विषयमा प्रशिक्षण दिइने जानकारी दिए ।