काठमाडौं, कात्तिक । प्रधानन्यायबीश चोलेन्द्रसमशेर राणालाई अदालत प्रबेशबाट रोक्ने कानुन व्यवसायीहरुको जुलुसमा झडप भएको छ भने केही पक्राउ पनि परेका छन् ।प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको हो ।
सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग उनीहरुको केहीबेर भनाभन भएको थियो । त्यसपछि हात हालाहाल भएको थियो । प्रहरीले केहीलाई पक्रेर भ्यानमा राखेको थियो ।
तर काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भने झडप नभएको र कसैलाई पनि पक्राउ नगरेको अनलाइनखबरलाई बताए ।
अहिले आन्दोलनरत कानुन व्यवसायीहरु सर्वोच्च अदालत अगाडिको मुख्य गेटमा भेला भएर धर्नामा बसेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटमा धर्ना दिएका हुन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।
आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले प्रदर्शनमा सहभागीहरुलाई संयमित हुन आह्वान गर्दै आएका छन् ।