२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेकपा माओवादी केन्द्र 

स्थायी समिति बैठक निर्णय : " यथास्थितिमा एमसीसी पास हुँदैन" 

प्रवक्ता महरा भन्छन : " राष्ट्रिय सहमति र सम्झौतामा संशोधन तथा परिमार्जन नभई एमसीसी अगाडि बढ्दैन"

मंगलवार , कार्तिक २३, २०७८


काठमाडौं, कात्तिक  । सत्तारुढ नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक यथास्थितिमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पास नगर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरुले अर्थ मन्त्रालय तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लेखेको पत्रमाथि प्रश्न उठाएका थिए ।

एमसीसीबारे उठेका प्रश्नलाई समेटेर अर्थ मन्त्रालयले भदौमा मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र पठाएको थियो । त्यसको जवाफ आएपछि प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्को पत्र पठाएका थिए ।

हालै मात्र प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर आफू र प्रचण्डले पत्र पठाएको बताएपछि यो विषय सार्वजनिक भएको थियो । यसलाई लिएर माओवादी केन्द्रका नेताले मंगलबारको बैठकमा प्रश्न उठाएका हुन् ।  नारायणकाजी श्रेष्ठ प्रकाश, देव गुरुङ, लीलामणि पोखरेल लगायतले पत्र पठाउनु गम्भीर त्रुटि भएको बताएका थिए ।
लगत्तै अध्यक्ष प्रचण्डले स्पष्टीकरण दिएका छन् । बाहिर चर्चा भए जस्तो एमसीसी पास गर्छौं भनेर पत्र नलेखेको उनको दाबी छ ।
 ‘अध्यक्षले यथास्थितिमा पास गर्ने केही लेखिएको छैन भनेका छन,’ एक स्थायी समिति सदस्यले भने, ‘राष्ट्रिय सहमति चाहिन्छ, त्यसका लागि समय चाहिन्छ भनेका छौं ।’

सत्तारुढ गठबन्धनलाई तोड्ने अनेक प्रयास भइरहेकाले पनि सम्झौतामा संशोधन भए सहयोग लिन्छौं भनेर पत्र लेख्नुपरेको प्रचण्डले बताए ।

एक नेता अनुसार बैठकमा पार्टी अध्यक्ष प्रचण्डले नै राष्ट्रिय संवेदशनीलतासँग जोडिएकाले एमसीसी सम्झौता यथास्थितिमा संसदबाट पास नगर्ने निर्णय गर्ने प्रस्ताव राखेका थिए, जसलाई स्थायी समितिले अनुमोदन गरेको छ ।

बैठकपछि माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि राष्ट्रिय सहमति र सम्झौतामा संशोधन तथा परिमार्जन नभई एमसीसी अगाडि नबढ्ने बताएका छन् ।

‘हाम्रो पार्टीमा केही कुरा राष्ट्रिय सहमति कायम नभई र केही संशोधन, परिमार्जन नभई अगाडि नबढाउने भन्ने भएको छ,’ उनले भने, ‘एमसीसीको कतिपय कुरा आपत्तिजनक छन् । त्यसमा परिमार्जन नभई अगाडि बढ्दैन ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार