धनगढी, कात्तिक । नेपाली काँग्रेस कैलालीले कात्तिक २७ गतेदेखि विभिन्न तहका अधिवेशन गर्ने भएपछि चहलपहल शुरु भएको छ । मुलुककै ठूलो जिल्लाका रुपमा रहेको कैलालीमा २७ गते वडा अधिवेशन, ३० गते पालिका अधिवेशन, मङ्सिर ३ गते प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, ६ गते क्षेत्रीय र १० जिल्ला अधिवेशन हुने कांग्रेस कैलालीका प्रचार विभाग प्रमुख नृप सुनारले बताएका छन ।
सुदूरपश्चिम क्षेत्रका अरु आठ जिल्लामा सबै खालका अधिवेशन भइसकेका भए पनि कैलालीमा सदस्यता विवादका कारण अधिवेशन हुन ढिलाइ भएको थियो ।
कैलालीमा १२६ वडा, पाँचवटा सङ्घीय र १० प्रदेश निर्वाचन क्षेत्र रहेका छन् । १८ हजार ३४८ क्रियाशिल सदस्य रहेको कैलालीबाट बढी १२५ जना महाधिवेशन प्रतिनिधि छानिने बताइएको छ ।
विभिन्न तहका अधिवेशन हुने निश्चित भएपछि अहिले अहिले विभिन्न पदमा उठ्न चाहने आफ्नो प्रचार प्रसारमा जुटेका छन् । यसक्रममा वर्तमान उपसभापति प्रकाश वमले सोमबार पत्रकार सम्मेलन नै गरेर सभापतिको उम्मेदवार हुने घोषणा गरेका छन ।
प्रचार विभाग प्रमुख नृप सुनारले पनि आफू सचिव पदको उम्मेद्धवार भएकाले जिल्ला दौडाहामा रहेको बताएका छन । कैलालीमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षकै सभापतिमा दुई उम्मेद्धवार हुने परम्परा रहेको छ ।
विगतदेखि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि सभापतिमा उम्मेदवारी दिने गरेको छ । यद्यपी आफ््नै समूहका दुई उम्मेद्धवार भए पनि सभापति पदमा सभापति देउवा पक्ष नै जित्ने गरेको छ ।