भैरहवा, कात्तिक । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संसदीय प्रणाली असफल भएको बताएका छन । उनले भने, यो संसदीय प्रणालीले सांसद खरीद बिक्रीलाई छुट दिएको छ, यसलाई फेर्न आबश्यक छ ।
उनले थपे, “सांसद खरीद बिक्री हुनुमा नेताको मात्र दोष होइन, संसदीय प्रणालीकै दोष हो, यही संसदीय प्रणालीका कारण न्याय क्षेत्र पनि खर्चिलो छ” ।
जसपा रुपन्देही क्षेत्र नम्बर १ द्वारा सोमबार रोहिणी गाउँपालिका–३ धकधईमा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन ।
उनले मुलुकको संविधान त्रुटीपूर्ण रहेको पनि औंल्याएका छन । त्रुटिपूर्ण संविधान निर्माणमा काँग्रेस र कम्युनिष्ट मुख्य दोषी रहेको आरोप लगाउँदै उनले संविधान संशोधन गरी संविधानमा रहेका त्रुटी सच्याउनुपर्नेमा जोड दिएका छन । अध्यक्ष यादवले संविधान संशोधनमा काँग्रेस–कम्युनिष्ट तयार नभए आठौं संविधान निर्माणका लागि आन्दोलन गरिने पनि बताए ।
“संविधान संशोधनमार्फत मधेशी जनताका मुद्दा संबोधन नभए आठौं संविधान निर्माणका लागि अगाडि बढ्नुको विकल्प छैन”–यादवले भने । संविधानमा उल्लेखित प्रदेश संरचना पनि त्रुटिपूर्ण रहेकाले यसलाई संशोधनमार्फत फेर्नुपर्ने माग उनको छ । “अहिले कायम रहेका सात प्रदेश व्यावहारिक र वैज्ञानिक छैनन्, यसलाई संशोधन गरी उच्चस्तरीय राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनबाट आएको १० वटा प्रदेश नै कायम गरिनुपर्छ”– अध्यक्ष यादवको भनाई छ ।
उनले हालको प्रदेश संरचना अधिकारबिहीन रहेको दावी गरे । उनले भने, “अधिकारबिहीन प्रदेश सरकारमा ५÷७ जना मन्त्री बन्दैमा र झण्डावाल गाडी चढेर हिंड्दैमा केही हुँदैन, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्छ ।”
अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि फेर्नुपर्ने बताएका छन । अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले यो कायम रहँदासम्म पैसावालाले मात्र निर्वाचन लड्नसक्ने भएकाले यसलाई फेर्नुपर्ने उनको भनाई छ । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।
उनले नागरिकता विधेयक तत्काल ल्याउनुपर्ने माग समेत गरे । धेरै मधेशी नागरिक नागरिकताबिहीन भएको औंल्याउँदै नागरिकतामा भएको विभेदकारी प्रावधान सच्याउन जरुरी रहेको उनको भनाई छ ।