काठमाडौँ, कात्तिक । सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहले सरकार सञ्चालनमा सहयोग पुयाउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । समितिमा ११ सदस्य रहनेछन् ।
सत्ता गठबन्धनमा रहेका दलबाट दुई दुई जना र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहने निर्णय भएको उहाँले जानकारी दिनुभयो । नेता श्रेष्ठका अनुसार हरेक पार्टीले दुई दुई महिना समितिको नेतृत्व गर्नेछन् । पहिलो संयोजन नेपाली कांग्रेसले गर्नेछ ।
कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले संयोजन गर्ने उहाँले जानकारी दिनुभयो । हरेक बैठकमा प्रधानमन्त्री सहभागी हुने उहाँको भनाइ छ । समिति गठनको उद्देश्यबारे प्रस्ट पार्दै उहाँले भन्नुभयो, गठबन्धनलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, सरकार सञ्चालनमा सहयोग पुयाउने तर सरकार सञ्चालन गर्ने संयन्त्र होइन, दलहरूको समन्वय समिति मात्र हो ।
राष्ट्रियताको रक्षा, संविधान र लोकतन्त्रको रक्ष, संस्थागत सुदृढीकरण, सुरक्षा, सुशासन, सेवा र विकास एवं निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यका साथ समिति गठन गरिएको उहाँले बताउनुभयो ।
गठबन्धन बैठकमा आसन्न राष्ट्रियसभा बैठकमा मिलेर जाने सहमति भएको नेता श्रेष्ठले बताउनुभयो । न्यायालयमा देखिएको गतिरोध र विभिन्न देशमा रिक्त राजदूत नियुक्तिका विषयमा कुनै छलफल नभएको उहाँले जानकारी दिनुभयो ।