जनकपुर, कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति मधेसी बने पनि फरक नपर्ने बताएका छन । नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन ।
पार्टीको सभापतिमा टीका लगाएर दिने कुरा आउँदैन उनले भने, सभापतिमा मधेसी नै बने फरक पर्दैन । तर, यसको निर्णय कार्यकर्तामा छोडनुपर्दछ ।
पार्टी नेतृत्वमा पुस्तान्तरणभन्दा रुपान्तरणको आवश्यक्ता भएको उनले रुपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार राम्रो ल्याएर राष्ट्र हाँक्न र प्रतिपक्षीसँग सामना गर्न सकिने नेतृत्व चाहिएको बताए । उनले थपे, युवा, महिला, मधेशी, पहाडी, जनजातिभन्दा राष्ट्र हाँक्न सक्ने व्यक्तिको आवश्यक्ता छ ।
काँग्रेस पार्टीको विधान सबैले अवसर पाउने खालको रहेको उनले भने, यस्तो विधान कसैको पनि छैन ।पछिल्लो पटक पार्टी महाधिबेशनको सार्वजनिक गरिएको समयतालिका नै अन्तिम रहेको उनले भने, यसमा कुनै किसिमको फेरबदल हुँदैन । मंसिर २४ देखि २६ मै महाधिबेशन हुन्छ । नेपाली काँग्रेस व्यवस्थित भएमा मात्र लोकतन्त्र व्यवस्थित हुने उनले तर्क दिदै पार्टीलाई व्यवस्थि गर्न आन्तरिक लडाइ लडिरहेको बताए ।
लोकतन्त्रमाथि खतरा बढ्दै गइरहेको नेता पौडेलले भन्नुभयो, पार्टी अस्तव्यस्त छ, पार्टी व्यस्थित भएलगतै लोकतन्त्र पनि व्यवस्थित हुदै जान्छ ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएको बरिष्ठ नेता पौडेलले जनताले भरोसा गरेका कम्युनिस्ट, मधेसी दललगायतले जनताको आकाँक्षा अनुरुप काम गर्न सकेर असफल भइसकेको बताए । अब काँग्रेसमाथि जनताको भरोसा रहेको उल्लेख गर्दै उनले यसले नै लोकतन्त्रको रक्षाको बाटो निर्धारण गरिने बताए ।