इनरुवा, कात्तिक । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज सुनसरीको बाढीपीडित क्षेत्रको निरीक्षण गर्नुभएको छ । केही दिन अगाडि वर्षासँगै आएको बाढीबाट प्रभावित भएका जिल्लाको विभिन्न क्षेत्रको मन्त्री कार्कीले निरीक्षण गर्नुभएको हो ।
उहाँले सुनसरीको बराहक्षेत्र नगरपालिका ४ मा रहेको बराह लाइभष्टक फार्म प्रालि, रामधुनी ८ मा रहेको भरत कार्कीको फार्ममा भएको क्षति, हरिनगर गाउँपालिका २, ५, ६, ७ नम्बर वडामा बाढीबाट भएको क्षतिका विषयमा निरीक्षण गर्नुका साथै पीडितलाई बाढीबाट भएको असरका विषयमा समेत जानकारी लिनुभएको थियो ।
त्यसैगरी केही दिन अगाडि सुनसरी प्रहरीको हिरासतमा भोक्राहा नरसिंह गाउँपालिका ५ का हकिम मियाँले आत्महत्या गरेपछि आक्रोशित युवाको समूहले इनरुवा ९ बबियाका विष्णु शर्माको घरमा गरेको आगजनीका विषयमा समेत निरीक्षण गर्नुका साथै शर्माको अवस्थामा विषयमा जानकारी लिनुभएको थियो ।
घटनापछि शर्माले घरमा बस्नका लागि समस्या भएको भन्दै घरमा बस्ने वातावरण मिलाइदिनका लागि मन्त्री कार्कीलाई आग्रह गर्नुभएको थियो । मन्त्री कार्कीले समेत शर्मालाई पूर्ववत् अवस्थामा काम गर्नका लागि वतावरण मिलाइदिन र शान्तिसुरक्षाको अवस्था सिर्जना गर्नका लागि सुनसरी प्रशासनलाई निर्देशन दिनुभयो ।