सुनसरी, कात्तिक । बितेका तीन बर्ष ओली सरकारले गफ मात्रै गरेर बितएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन । उनले भने, केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरे ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले विगतको सरकारले के गर्यो र गरेनभन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्व राख्ने पनि बताए । ओली सरकारले साढे तीन वर्ष गफमा बिताएको बताएका कार्कीले थपे, कांग्रेस सरकार मुलुकको समृद्धि र विकास केन्द्रित रहेको छ ।
सुनसरीको इनरुवामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले केन्द्रमा बनेको गठबन्धनको सहमति बमोजिम वर्तमान सरकार अघि बढेको बताए । मन्त्री कार्कीले प्रदेश १ का आफ्ना पार्टी नेपाली कांग्रेसका प्रदेश सांसदलाई पार्टी निर्णय विपरीत नजान पनि निर्देशन दिएका छन ।
मन्त्री कार्कीले प्रदेश १ सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केही कांग्रेस नेता तथा कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको बुझिन आएको भन्दै त्यसो गरिए पार्टी हित विपरीत ठहरिने बताए ।
प्रदेश १ को सरकार नेकपा एकीकृत समाजवादीको नेतृत्वमा बन्ने बताउँदै कार्कीले गठबन्धनको निर्णय बमोजिम मुख्यमन्त्री चयन हुने बताए ।