२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'माडीको विकासका लागि मलाई बढी चिन्ता र चासो छ' : अध्यक्ष दाहाल

बिहिवार , कार्तिक ११, २०७८

चितवन, कात्तिक ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरुलाई भन्दा आफूलाई बढी चिन्ता र चासो रहेको बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवन र माडी नगरपालिकाले आज माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माडी बनाउनका लागि नभएर प्रोपोगाण्डाका लागि राम मन्दिरको कुरा उठाइएको बताउनुभयो ।

माडीमा प्रोपोगाण्डाका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ऐतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा म छु । फरक प्रसङ्गमा उहाँले सुकुम्वासी समस्या छिट्टै समाधान हुने बताउनुभयो । उहाँले सुकुम्वासीको समस्या समाधान गर्नेतर्फ सरकार लागेको बताउनुभयो ।

माडीको बाँदरझुला सुकुम्वासी बस्ती हो । दाहालले भन्नुभयो, मैले भूमिसुधार मन्त्री र राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई भनिसकेको छु, ठोस कार्य योजना बनाएर लालपूर्जा वितरण गर्नुहोस् ।” उहाँले आफूले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको बताउनुभयो ।

दाहालले रिउ करिडोरमा तटबन्धन, दर्जन बढी नदीमा पक्की पुल र सडक कालोपत्रेको काम धमाधम भइरहेको भन्दै सुकुम्वासी बस्ती हनुमानझुलामा बिजुली बत्ती विस्तारका लागि काम गरिरहेको बताउनुभयो । सो अवसरमा दाहालले स्थानीय ज्येष्ठ नागरिकलाई नागरिकता वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, माओवादी केन्द्रका नेता प्रभु महतो, नेकपा समाजवादीका नेता नारदमणि पौडेल, प्रमुख जिल्ला अधिकारी आसमान तामाङलगायत बाँदरझुलामा नागरिकता र लालपूर्जाको समस्या समाधान गर्न दाहालसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार