२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'राज्यका अङ्गले गरिमा कायम राख्नुपर्छ ' : अध्यक्ष दाहाल

मंगलवार , कार्तिक ९, २०७८

चितवन, कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्यका अङ्गले आफ्नो गरिमा कायम राख्नुपर्ने बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले आफ्नो स्वतन्त्रता र गरिमा कायम राख्नुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको चौतर्फी आलोचना भइरहेको समयमा अध्यक्ष दाहालले न्यायपालिकाको स्वतन्त्रता र गरिमालाई आँच नआओस् भन्ने विषयमा सबै सर्तक हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, राज्यका प्रमुख अङ्गले आफ्नोआफ्नो स्वतन्त्रता र गरिमालाई कायम राख्न बल गर्नुपर्छ ।

यस विषयमा सत्ता गठनबन्धनबीच छलफल गरेर एक दुई दिनमै उचित निस्कर्षमा पुग्ने उहाँको भनाइ थियो । प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा उहाँले कुनै छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, हिजो मात्रै सत्ता साझेदार तीन दलको बैठक भएको थियो । पाँच दलको बैठक हुन बाँकी छ ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले पार्टीलाई बलियो बनाउनका लागि सबै कार्यकर्ताले सङ्कल्प गर्नुपर्ने समय आएको बताउनुभयो । अहिले गम्भीर परिस्थिति रहेको भन्दै उहाँले भन्नुभयो, परिस्थिति गम्भीर छ ।

जसरी पनि सङ्घर्ष गरेर उपलब्धिको रक्षा गर्नुपर्छ । नेकपा एमालेले आफ्नो १०औँ महाधिवेशन चितवनमा गर्न लागेको विषयमा अध्यक्ष दाहालले आफूलाई विजयी गराउन एमालेले सुरुआत गरेको बताउनुभयो ।

मालेले महाधिवेशन चितवनमा गर्नुले आफ्नो महत्व कति छ भन्ने झल्किएको उहाँको भनाइ थियो । आगामी निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार हुने अध्यक्ष दाहालले प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, सांसदका रुपमा निर्वाचन लड्ने मेरो अन्तिम हुनसक्छ । चितवन छाड्दिन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार