फिदिम, कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावित परिवारलाई चिन्ता नलिन आग्रह गरेका छन । उनले आज पाँचथर र इलाम जिल्लाका बाढी, पहिरो प्रभावितलाई आइतबार भेट गर्नुहँदै भने, 'सरकार साथमा छ, चिन्ता नलिनुस् ।'
पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ चिक्फुलामा र इलाम पाँचथरका पीडित परिवारलाई भेट गर्दै प्रम देउवाले प्रभावित परिवारलाई राहत दिने र अल्प तथा दीर्घकालीन व्यवस्थाका साथ पुनस्र्थापना गर्ने सरकारको तयारी रहेको पनि बताए । यसकै लागि हामी पीडितको स्थलगत अवस्था बुझ्न यहाँसम्म आएका छौ भन्दै प्रधानमन्त्री देउवाले थपे, 'थप राहतको व्यवस्था गर्ने सरकारले तयारी गर्दैछ ।'
'अहिलेको विपदले पारेको दुःखको समाधान गर्न सवै एक जुट भएर लाग्नुपर्छ ।' घरबारविहीन बनेका पीडितको घर बनाउने सरकारी योजना रहेको बताउँदै प्रम देउवाले प्राकृतिक प्रकोपबाट देशैभरिका प्रभावित परिवारलाई सहयोग गर्न सबै निकायलाई परिचालन गर्ने वताए ।
प्रम देउवाले बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा खटिने सबैप्रति धन्यवाद समेत व्यक्त गरे । बाढी पहिरोबाट क्षतिग्रस्त मेची राजमार्गको ब्यवस्थित पुननिर्माणमा समेत सरकारले ध्यान दिने उनको भनाई छ ।
बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न प्रम देउवाका साथ उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुषाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, छन ।
बाढी तथा पहिरोका कारण पाँचथर जिल्लामा ३०, इलाम जिल्लामा १४ जनाको मृत्यु भएको छ । दुई जिल्लामा गरी सात जना वेपत्ता छन् भने सयौँ परिवार विस्थापित भएका छन् ।