सर्लाही, कात्तिक । कृषि तथा पशुपछी विकास मन्त्री महेन्द्र राय यादवले सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक यो वर्ष निर्माण भएरै छाड्ने बताएका छन । मन्त्री यादवले सोमवार सदरमुकाम मलङ्गवामा पत्रकारहरुसँग कुरा गर्दै हुलाकी सडकको काममा अब बिलम्व नहुने बताएका हुन ।
यसअघि बजेट विनियोजन गर्दा प्रदेश सरकार अन्तर्गत परेको भए पनि यो वर्ष भने सङ्घीय सरकार मातहत राष्ट्रिय गौरवको आयोजनामा परेकाले सडक बन्नेमा आफू विश्वस्त रहेको मन्त्री यादवको भनाई छ ।
सङ्घीय सांसद एवं जनता समाजवादी पार्टीका नेता तथा मन्त्री यादव आफै पनि हुलाकी सडकको निर्माण कार्य अघि बढाउन माग गर्दै यसअघि सदरमुकाम मलङ्गवास्थित शहीद चौकमा धर्नामा बसेका थिए ।
उच्च पदस्थ व्यक्ति धर्नामा बसेर दबाब दिँदासमेत हुलाकी सडकको निर्माण कार्यले गति लिनसकेको छैन् । पश्चिम बलरादेखि पूर्व सङ्ग्रामपुरसम्मको हुलाकी सडक पानी पर्दा हिलाम्मे र घाम लागेको समयमा धूलाम्मे हुँदा कष्टकर किसिमले यात्रा गर्नुपर्ने बाध्यता छ ।
पत्रकारसँगको कुराकानीमा मन्त्री यादवले मलखाद्यको समस्या र उखु किसानको पीडा सम्वोधन गर्ने गरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।