काठमाडौँ, असोज । उद्योग, वाणिज्य तथा आपूतिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएर राम्रो गरेको नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन । उनले भने, 'कांग्रेसलाई ठूलो योगदान पुर्याएका नेता हमाल र उनको परिवारलाई लिएर विवाद उत्पन्न भएकाप्रति दुःखको कुरा हो ।'
नेपाल लोकतान्त्रिक खेलकुद संघले गरेको कार्यक्रममा बोल्दै नेता थापाले भने, गजेन्द्र हमालले राजीनामा दिएर राम्रो गरे ।' उहाँ हाम्रो अत्यन्त सम्मानित नेता हुन । उनको परिवारले, उनले बाँकेमा कांग्रेस पार्टीका लागि पुर्याएको योगदान अमूल्य छ । मलाई दुःख लाग्यो । हामीले उनलाई, उनको परिवारलाई अनावश्यक ढंगले विवादमा ल्यायौं ।
नेता थापाले थपे, 'कांग्रेसले जुनसुकै काम गर्दा पनि त्यसको पक्षमा वकालत गर्न सक्ने ठाउँ राखेर गर्नुपर्छ । हामी केपी ओली होइन ।' हामी ढाँट्ने, ठग्ने, छलकपट गर्ने काम गर्न जान्दैनौं । त्यस्ता काम उनलाई नै छाडिदियौं ।
हामीले काम गरिसकेपछि त्यसको पक्षमा वकालत गर्न सक्नुपर्छ, थापाले भने, जुन काम उज्यालोमा त्यसको पक्षमा वकालत गर्न सकिन्नँ । त्यो काम कांग्रेसले गर्दै गर्दैन ।
त्यो गर्यो भने कांग्रेसकै नेता कार्यकर्ताको मोह भंग हुन्छ । नेता थापाले कांग्रेस आफैंमा विचार भएको भन्दै त्यसलाई स्खलित हुनबाट बचाउन सक्ने नेतृत्व आसन्न महाधिवेशनले चुन्नुपर्ने बताए ।