२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल भारत सम्बन्ध

नेपाली काँग्रेस टाेली भारतमा : 'भारतीय विदेश मन्त्रीसँग भेटवार्ता'

संयाेजक डा. महतले भने : महाकाली तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विषयमा कुराकानी

शुक्रवार , आश्विन २२, २०७८

काठमाडौँ, असोज । भारत भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिभण्डलले आज भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले आज अपराह्न विदेशमन्त्रीसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले राससलाई जानकारी दिनुभयो ।

सो भेटका क्रममा नेपाल भारत सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो । वार्ता निकै फलदायी भएको र नेपाल भारत सीमा, हालै महाकाली नदीमा भएको तुइन प्रकरण, कोभिड समस्या तथा दुई देशबीचका सम्बन्धका विविध विषयमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

दुई देशबीचमा पछिल्लो समयमा देखिएको सीमासम्बन्धी समस्याको बारेमा आफूले विदेशमन्त्री जयशंकरलाई जानकारी गराएको र सीमा समस्याको समाधानका लागि तत्कालै कूटनीतिक माध्यमबाट वार्ता गरी समाधानको खोजी गर्न आफूले गरेको आग्रहलाई विदेशमन्त्रीले सकारात्मकरुपमा यसको समाधानका लागि भारततर्फबाट छिट्टै अग्रसरता लिइने बताउनुभएको डा महतले जानकारी दिनुभयो ।

त्यसैगरी महाकालीको तुइन प्रकरणका विषयमा पनि आफूले विदेशमन्त्री जयशंकरसँग कुरा राखेको उहाँले बताउनुभयो । यस विषयमा नेपाल सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा भारतलाई कूटनीतिक नोटसमेत पठाइएको र त्यस विषयमा अध्ययन गरेर निकास निकाल्न आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

सो भेटका क्रममा यसअघि भएको सहमति बमोजिम नेपाललाई कोरोना विरुद्धको कोभिसिल्ड खोप पठाउन आग्रह गरिएको र ती खोप भारत सरकारले जतिसक्दो चाँडै नेपाल पठाउने जानकारी विदेशमन्त्री जयशंकरले दिनुभएको पनि डा महतले बताउनुभयो ।

उक्त द्धिपक्षीय भेटमा नेपालका तर्फबाट डा महतसहित नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतका तर्फबाट विदेशमन्त्री जयशंकरसहित भारतीय जनता पार्टीका नेताद्वय विजय चौथाइवाले र आश्विन जोहर हुनुहुन्थ्यो ।

भारतीय जनता पार्टीको आमन्त्रणामा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महत नेतृत्वको सो टोली बिहीबार भारत पुगेको हो ।रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार