२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेसको १४औँ महाधिवेशन

वरिष्ठ नेता पौडेलले भने : "कांग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्छ"  

आइतवार , आश्विन १७, २०७८

दमौली, असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अरुलाई लोकतन्त्र सिकाउने कांग्रेस पहिला आफैँ लोकतन्त्रवादी हुनुपर्नेमा जोड दिएका छन । नेपाली कांग्रेस व्यास नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सफल हुन साँच्चिकै लोकतन्त्रवादी हुनुपर्ने बताए ।

पौडेलले भने , सबैभन्दा लोकतन्त्रको वकालत गर्ने पार्टी कांग्रेस हो, तर के साँच्चै कांग्रेस आफैँमा लोकतन्त्रवादी छ त भन्ने प्रश्न चिह्न खडा भएको छ । कांग्रेसको नेतृत्व गर्ने मान्छेले लोकतान्त्रिक व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै उनले पार्टीभित्र लोकतन्त्रको आफूले सदैव वकालत गर्दै आएको दाबी गरे ।

पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकता र सद्भावको यात्रा अगाडि बढाउन सुझाव दिए । जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जित र हारलाई सहज रुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडी बढ्नुपर्छ, वरिष्ठ नेता पौडेलले थपे, तब मात्र काङ्ग्रेस बलियो बन्छ । सत्तरी वर्ष लडेर ल्याएको संविधानले महिला, दलित, जनजातिलाई अधिकार दिलाएको चर्चा गर्दै वरिष्ठ नेता पौडेलले सिंहदरबारका अधिकार गाउँ गाउँमा आएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई, जिल्ला सभापति वैकुण्ठ न्यौपाने लगायतले सुदृढ कांग्रेस बनाउनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका दावेदार पौडेल तीनदेखि गृह जिल्ला तनहुँमा हुनहुन्छ । महाधिवेशन अन्तर्गत तनहुँका १० वटै पालिकामा निर्वाचन सम्पन्न भएपछि वरिष्ठ नेता पौडेल शुक्रबारदेखि जिल्लाका विभिन्न ठाउँमा कार्यकर्ता भेटघाट गरिरहेका छन ।

शुक्रबार गृह जिल्ला आउनुभएका पौडेल सोही दिन नेपाली कांग्रेस आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी भएका छन । शनिबार भानु नगर समितिको पदस्थापन कार्यक्रम र बन्दिपुरमा कार्यकर्ता भेटघाटमा सहभागी हुनुभएका पौडेल आज व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी भएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार