२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औँ महाधिबेशन

वरिष्ठ नेता पौडेलले भने : " जित्ने र हार्ने मिलेर अगाडि बढाउनुपर्छ "

कम्युनिष्टबाट लोकतन्त्र बच्न नसक्ने जिकिर

शनिवार , आश्विन १६, २०७८

दमौली, असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस महाधिवेशनमा जित्ने र हार्ने दुवै मिलेर एकताको यात्रा अगाडि बढाउनुपर्ने बताउनुभएको छ । कांग्रेसको भानु नगर समितिको आज आयोजित पदस्थापन कार्यक्रममा उहाँले जीत र हारलाई स्वभाविकरुपमा लिएर एकता र सद्भावको यात्रा बढाउनुपर्नेमा जोड दिनुभयो ।

जित्नेलाई बधाई र हार्नेलाई सहानुभूति मात्र होइन, जीत र हारलाई सहजरुपमा लिएर सद्भाव, एकता र मेलमिलापको यात्रामा अगाडि बढ्नुपर्छ, पौडेलले भन्नुभयो, तब मात्र कांग्रेस बलियो बन्छ । लोकतन्त्र बचाउने भनेको कांग्रेसले मात्र भएको उल्लेख गर्दै उहाँले कम्युनिष्टबाट लोकतन्त्र बच्न नसक्ने जिकिर गर्नुभयो ।

देशमा लोकतन्त्र बचाउने काम कांग्रेसले जिम्मेवारीपूर्वक बहन गर्नुपर्छ, त्यसको अभिभारा कांग्रेसलाई आइपरेको छ , उहाँले भन्नुभयो । सिंहदरबारका अधिकार गाउँगाउँमा आएको प्रसङ्ग उल्लेख गर्दै नेता पौडेलले कांग्रेसको नेतृत्वमा ल्याएको संविधानमाथि आक्रमण हुनसक्ने भएकाले परिवर्तन बचाउनका लागि अझै पनि सङ्घर्ष गर्न बाँकी रहेको बताउनुभयो ।

नेपालमा अझै पनि लोकतन्त्र सुनिश्चित नभइसकेको र लोकतन्त्रका लागि लडाई गर्न अझै बाँकी रहेको उहाँले टिप्पणी गर्नुभयो । नेपाललाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ, त्यसकाविरुद्धमा कम्मर कसेर लाग्नुपर्छ , उहाँले भन्नुभयो । एमाले जिम्मेवार प्रतिपक्ष बन्नुपर्ने नेता पौडेलको भनाइ थियो ।

कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीलगायतले आआफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा भानु नगरसमितिका नवनिर्वाचित सभापति रामकुमार श्रेष्ठ नेतृत्वको समितिलाई पदस्थापन गराइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार