काठमाडौँ, असोज । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड १९ सम्बन्धी जानकारी अब नेपाली भाषामा उपलब्ध गराउने भएको छ । डब्लुएचओले पाँचमा विज्ञान ( साइन्स इनफाइभ ) कार्यक्रम मार्फत पोडकाष्टबाट कोभिड १९ सम्बन्धी जानकारी गराउने भएको हो ।
आजदेखि प्रत्येक शुक्रबार दृश्य र श्रव्यमा दुवैमा कोभिड १९ को जानकारी गराउने छ । कोभिड १९ सम्बन्धी अफवाह र गलत समाचार फैलिन थालेपछि डब्लुएचओले इन्टरनेट प्रयोगकर्तालाई लक्षित गरी यो पोडकाष्ट थालेको हो ।
यसले अफवाहलाई चिर्न र सत्य सूचनामा मात्रै विश्वास गर्न सहयोग मिल्ने बताइएको छ । पोडकाष्टका नयाँ अङ्क प्रत्येक शुक्रबार साउण्ड क्लाउडमा पाँचमा विज्ञान च्यानलमार्फत प्रसारण गरिनेछन् ।
आजदेखि प्रसारण गरिने पोडकाष्टको पहिलो अङ्कमा डब्लुएचओकी मातृ तथा नवजात शिशु स्वास्थ्य विज्ञ डा ओज्गे टुनचाल्पले कोभिड १९ महामारीका समयमा गर्भवती तथा गर्भाधारणको योजनामा रहेका महिलाले ध्यान दिनुपर्ने विषयमा छलफल गर्नु हुनेछ ।